राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुरद्वारा रक्तदान
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटिले रौतहटको चन्द्रनिगाहपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रादेशिक रक्त संचार केन्द्र चितवनको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
रगतको अभावमा कसैले ज्यान गुमाउनु पर्ने अवस्था सृजना नहोस् भने आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटिका अध्यक्ष बिक्रम लामाले बताए । राष्ट्रिय युवा संघ नेपाल सदैव समाज, नागरिक र देशलाई अप्ठ्यारो पर्दा सदैव अग्रणी मोर्चामा रहेको स्मरण गर्दै उनले नेपाली जनताको दैनिक जनजीविका तथा सामाजिक दायित्वप्रति पनि राष्ट्रिय युवा संघ नेपाल प्रतिबद्ध रहिरहने विश्वास व्यक्त गरे ।
कार्यक्रममका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मीले शरिरमै खेर जाने रगत दान गरे कसैको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्नका लागि रक्तदान गर्नुपर्ने सुझाए । उनले राष्ट्रिय युवा संघले राजनिति मोर्चामा मात्र नभएर सामाजिक मोर्चामा पनि सफल नेतृत्व लिनुपर्नेमा जोड दिदैँ समाजलाई सही दिशामा लैजान युवाहरुको नेतृत्व अपरिहार्य रहेको बताए ।
सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य कुन्दन कुशवाह, नेकपा एमाले मधेश प्रदेश उप सचिव आरती भण्डारी, नेकपा एमाले मधेस प्रदेश सदस्य खड्ग बहादुर बम्जन , नेकपा एमाले रौतहट जिल्ला सचिव बाल बिक्रम कार्की, नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिब प्रसाद आचार्य, उपाध्यक्ष राजेन्द्र तिवारी, रेडक्रस चन्द्रपुरका सभापति श्रीकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।