सामूहिक बलात्कारपछि मृत्युको घटनामा दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा एक महिलाको मृत्यु सामूहिक बलात्कारपछि मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टका अनुसार १३ असोजको राति सामूहिक बलात्कारमा परेकी भंगहा नगरपालिका–२ बखरीकी ३५ बर्षीया अमृता सदाको असोज १४ गते मृत्यु भएको थियो ।
राति ११ बजे उनलाई घरबाटै कब्जामा लिएर दुई जनाले बलात्कार गरी विहान ३ बजे बेहोस अवस्थामा घरमा छाडिदिएका थिए । स्थानीय मेडिकल हुंदै प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएकी उनको १४ असोजमा मृत्यु भएको हो ।
प्रहरीले उक्त घटनामा संलग्नको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका ४२ बर्षीय मनोज कुमार यादव र महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुरका २४ बर्षीय बिपिन मण्डललाई पक्राउ गरेको हो ।
घटनाको डेढ महिनापछि पक्राउ परेका उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीहरुमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अमृतासँग मनोजको २ बर्ष अगाडिदेखि नै चिनजान थियो । १३ असोजको राति ११ बजेतिर मनोज साथी विपिन मण्डलसँग अमृताको घरमा आएका थिए । अमृताको घर अगाडि आएपछि उनलाई फोन गरेर बाहिर बोलाइएको थियो ।
त्यसपछि अमृतालाई पनि मोटरसाइकलमा चढाएर उनीहरुले बखरी गाउँदेखि उत्तरको चउरमा लगी बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी डीएसपी विष्टले बताए । अमृता बेहोस भएपछि उनीहरुले घरमा लगेर छाडिदिएकाा थिए ।
अमृतालाई घरमा छाडेपछि भागेका उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । विपिनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।