जीवनको आधा बाटो पार गरिसक्दा मैले समाजबाट ताली र गाली बराबर पाएको छु : दुर्गा प्रसाई

जीवनको आधा बाटो पार गरिसक्दा मैले समाजबाट ताली र गाली बराबर पाएको छु : दुर्गा प्रसाई

सफल व्यवसायी तथा नेकपा एमालेका युवा नेता : दुर्गा प्रसाई

वि.सं. २०२८ वैशाख २० गते तेह्रथुमको आठराईमा पिता कृष्णप्रसाद प्रसाई र माता कौशिला प्रसाईको साइलो छोराको रुपमा मेरो जन्म भयो । झापाको अर्जुनधारामा मैले माध्यमिक तहसम्मको औपचारिक शिक्षा लिएँ । हाल विर्तामोड वडा नं. ५ मा मेरो बसोबास छ । विर्तामोड निवासी स्व। भगवान गिरी र स्व। चन्द्रमाया गिरीकी कान्छी छोरी उमा गिरीसँग वैवाहिक बन्धनमा बाँधिएपछि मेरा एक छोरा निराजन र एक छोरी आरजु छन् । छोराछोरी दुबैलाई मेडिकल शिक्षा दिलाएर डाक्टर बनाउन सफल भएको छु ।

एउटा नदी, पहाडका गल्छीहरुमा बज्रिदै समुन्द्र भेट्ने लक्ष्य बोकेर जसरी छलाङ् मार्दै निरन्तर अगाडि बढिरहन्छ । एउटा पिपल, कठोर र तातो चट्टान फोड्दै उम्रिएर कालान्तरमा हजारौंलाई शितल छहारी र मीठो फल दिन सक्षम हुन्छ । एउटा दीप, आफु खरानी बनेर दुनियाँलाई आलोकित तुल्याउँदै जसरी प्रकाश छर्छ । ठिक त्यसैगरी, अत्यासलाग्दा बाधा र विरोधका हजार पहाड पन्छाउँदै स्वास्थ्य, शिक्षा र रोजगारका लागि आफ्नो सम्पूर्ण धन, तन र मन समर्पण गरेको साधारण नेपाली नागरिक हुँ म ।

जब मैले चेतना खुल्दै जाँदा मुलुककै सुगम र समृद्ध मानिएको झापा जिल्लाको ८० प्रतिशत जनसंख्या स्वास्थ्योपचारका लागि हटियामा दवाईका पोका फिजाउने झोले डाक्टरहरुमै निर्भर रहेको देखेँ । जब मैले एकातिर छोरा निराजन र छोरी आरजुलाई डाक्टर पढाउन विदेश पठाउनु प¥यो र अर्कातिर घाँटीमा क्यान्सर बोकेर उपचार गराउन भारत र सिंगापुर धाउनु प¥यो । यो मेरो रहर थिएन, २५ लाख मेची अञ्चलबासीको साझा बाध्यता हो भन्ने नमिठो अनुभूति भयो । अनि मैले दुनियाँकै एउटा नमुना मेडिकल कलेज र सुविधासम्पन्न क्यान्सर हस्पिटल बनाउने संकल्प गरेको थिएँ । त्यही संकल्पको भ्रुण र आफ्नै जीवनको भोगाईको मलजलमा हुर्किएको सपना साकार स्वरुप नै अहिलेको बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटल हो ।

जीवनको आधा बाटो पार गरिसक्दा मैले समाजबाट ताली र गाली बराबर पाएको छु । गाली गर्नेहरुप्रति मेरो उतिसारो गुनासो छैन । किनकि, नजाति काम गरेको भए पो गुनासो मान्नु । गरीव नेपालीका छोराछोरीले डाक्टर पढ्न विदेश धाउनु नपरोस् भनेर सिरिखुरी सम्पति बैंकमा धितो राख्दै मेडिकल कलेज स्थापना गर्दा ‘माफिया’ भइन्छ भने त्यस्तो ‘माफिया’ भइरहन पाउँ सँधैभरि । जीवनलाई मैले अब समाजकै हितमा समर्पित गरिसकेको छु । समाजको असली रुपान्तरण गफबाट

होइन, फराकिलो र सकारात्मक सोचसहितको कर्मबाट मात्र सम्भव हुन्छ भन्ने मेरो दृढ विश्वास छ । मेरा छोराछोरी पढाउन मैले मेडिकल कलेज खोलेको होइन । ताप्लेजुङको एउटा झुपडीमा हुर्किएको लिम्बुको छोरो होस् या झापाको कचनकबलमा आधापेट खाएर हुर्किएकी मधेशकी छोरी नै किन नहुन्, आमाले पकाएको खाना खाएर आफ्नै आँगनमा रहेको बीएन्डसीमा पढेर उनीहरु डाक्टर बनेको देख्ने सानो सपना छ मेरो । आफ्ना छोराछोरी स्वदेशमै डाक्टर बनेको देखेर खुशी भएका गरीव आमाबुवाको मुहारबाट निस्किएको मुस्कार हेर्ने अलिकति सपना छ मेरो । अनि जीवनमा मेरो एउटा प्रतिवद्धता छ ‘म जे गर्छु । स्वदेश मै गर्छु ।’

मेरो जीवनको शब्दकोषमा असम्भव भन्ने कुनै शब्द छैन । कुनैबेला देशको राजनीतिले जनतालाई सुखी तुल्याउने सत्कर्मको बाटो नसमाउँदा असन्तुष्ट रहेका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई समाजले उल्टै पागल करार गरेको इतिहासमा पढेको थिएँ । मेरो जीवनको अनेक मोडहरु पनि त्यस्तै रहे । मेडिकल कलेज खोल्छु भनेर जतिबेला मैले खाल्डो खनेर शिलान्यास गरेको थिएँ, मलाई दुनियाँले असम्भव काम गर्न लाग्यो भन्दै पागल भन्न बाँकी राखेनन् । जब मैले दुनियाँले असम्भव भनेको काम पूरा गरेर देखाए, अनि इष्र्या र डाहले जलन भएकाहरुले मलाई माफियाको आरोप लगाउन बाँकी राखेनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मेरै घरमा आमन्त्रण गरेर जब मैले कम्युनिस्ट एकताको बारेमा सहमत गराएँ, अनि विखण्डन र विभाजनमा रमाउनेहरुले नेपालीका प्यारा नेताहरुलाई जोडेर मलाई मार्सी भनेर अवाञ्छनीय गाली बर्षाउन बाँकी राखेनन् ।

नेपाली नागरिकलाई सुखी र समृद्ध बनाउने सपना ध्वस्त बनाउन देशी विदेशी शक्ति खनिएर आखिर नेकपालाई विभाजित गराएरै छाडे । कम्युनिस्ट एकताको साक्षी बनेको मेरा लागि यो विभाजन जीवनकै सबैभन्दा पीडादायी क्षण थियो । सगरमाथाको चुचुरो चढ्ने लक्ष्य बोकेको आरोहीले हिउँको पहिरो र आँधीबेहरीको अनेकपटक डटेर सामना गर्नु परे झैं नवीन जोश र उत्साहका साथ अघि बढिरहनु पर्छ । तेह्रथुमको आठराई र झापाको पानी पिएर हुर्किएको मेरो शरीरमा राजनीतिको त्यो नवीन जोश र उत्साह रक्तसञ्चार भइरहेको अनुभूति हुन्छ । भावी दिनमा समयले मागे राजनीतिको माध्यमबाट समाजको निस्वार्थ र अनुपम सेवा गर्ने अभ्यन्तरिक चाहना म लुकाउन चाहन्न ।

शिक्षा, स्वास्थ्य, रोजगार र राजनीति मेरो विचारमा सामाजिक सेवा र समृद्धिका मुहान हुन् । म जहाँ रहँु जे कर्म गरुँ : निमुखाका लागि न्याय बन्न सकुँ । अन्यायका विरुद्ध सतिसाल झैं उभिन सकुँ । सगरमाथा झैं अग्लो मेरो देशको

स्वाभिमान बचाउन वैरीका सामू बारुद बन्न सकुँ । मेचीको मानेभञ्ज्याङदेखि महाकालीको लिम्पियाधुरासम्म नक्सामा फैलिएको मेरो देशको भौगोलिक अवयव रक्षाका लागि अर्को वीर बलभद्र र भक्ति थापा बन्न सकुँ । म जे गर्छु, मेरो मातृभूमिका लागि नै गर्न सकुँ । नेपालको जय होस् ।

सफल व्यवसायी तथा नेकपा एमालेका युवा नेता : दुर्गा प्रसाई

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: