संवादका माध्यमबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन फिर्ता लिनुपर्छ :अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमालें) का अध्यक्ष केपी शर्मा ओलीले संवादका माध्यमबाट नेपालमा नयाँ नक्शामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन फिर्ता लिनुपर्ने बताएका छन् ।
चितवनमा शुक्रबार (आज)देखि सुरु भएको एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ ।’
त्यस्तै उनले अब विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय रहेको बताउँदै आफूहरुले सबैसँग समदूरीको सम्बन्ध चाहेको उल्लेख गरे । उनले भनेका छन्, ‘ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भएपनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ । सबैले सबैलाई समान हिसाबले लिनुपर्छ ।’
त्यस्तै एमालेले कसैलाई पनि शत्रु र मित्रुका रुपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको उनको दाबी छ ।