त्यो खडेरीहरुमा रोपेका संघर्षका दानाहरुमा

सरस्वती ढकाल (सारती)

मैले देखेको छु जिन्दगी
ती सूक्ष्म बिम्ब प्रतिबिम्बहरुमा
फोहोरको ह्रासहरुबाट भोजन खोजिरहेका ती निर्मम मुहारहरुमा
डढेलोपछि पलाएका ती नयाँ आँकुराहरुमा
वर्षातपछि खुलेका गगनहरुमा
औंसी पछिका ती जुनेली रातहरुमा
मैले देखेको छु जिन्दगी ती चित्कार अनि रोदनहरुमा
ती अबोध मुस्कानहरुमा।

मैले देखेको छु जिन्दगी ती तमाम भिरमा फुल्ने भिर–फूलका गुच्छाहरुमा
कापा फोरेर उम्रेने पिपलहरुमा
हिउँमा फुल्ने हिउँ–फूलहरूमा
ती प्रत्येक संघर्षका पाहिलाहरुमा
त्यो असारे झरीमा रुझ्दै रोपेका धान
अनि वर्षभरि भोक मेटाउने ती धानका सुनौला बालाहरुमा
त्यो खडेरीहरुमा रोपेका संघर्षका दानाहरुमा
सुनौलो भविष्य सुनिश्चित गर्न चुहाइएका ती परिश्रमका थोपाहरुमा।

ती भोकाएका निर्दोष मुहारहरुमा
अनि बुढ्यौलीले चाउरिएका ती मुहारहरुमा
नक्षत्रजस्तै विशाल ती समुन्द्रहरुमा
पहरा छिचोल्दै आफ्नो गन्तव्य तय गर्ने ती नदीहरूमा
मैले देखेको छु जिन्दगी ती चितामा जल्दै गरेका
मृत शरीरहरुबाट निस्केर गगन चुमिरहेका ती धुवाँहरुमा
अनि गंगामा बहाइए तृप्त भएका ती अस्तुहरुमा
कहाँ छैन जिन्दगी यहाँ
जिन्दगी देखेको छु मैले ती तमाम सजीव अनि निर्जीव वस्तुहरूमा।

यी हावा, पानी, पात पतिंगर, नक्षत्रहरुमा
भीमकाय ती भिरहरुमा
समाजले तोकेका ती जन्जिरहरुमा
बलात्कारपछि गला निमोठिएका
ती अपूर्ण जीवनहरुमा
सामाजिक उत्पीडन सहन नसकी
झुन्डिएका ती शवहरुमा
कहिल्यै न पुरिने ती खाटाहरुमा
भोकमरीको चपेटाहरुमा।

अनि मैले देखेको छु जिन्दगी
करूणाले सजिएका ती नयन
र खुला आकाशजस्तै हृदय भएका
तपाईंजस्तै मनहरूमा
अनि मैले देखेको छु जिन्दगी
खडेरीमा कहिलेकाहीँ वर्षिने ती पानीका थोपाहरूमा
अनि हजुरको जस्तै मुस्कानले भरिएका ति
मुहारहरूमा।

सरस्वती ढकाल (सारती)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: