२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पालिका कार्यालयभित्रै बलात्कार प्रयासको सिकार भएकी महिलाको दुखेसो–दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि मुद्दा दर्ता भएन

पालिका कार्यालयभित्रै बलात्कार प्रयासको सिकार भएकी महिलाको दुखेसो– ‘दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि मुद्दा दर्ता भएन’

बारा — बलात्कार प्रयासको सिकार भएकी एक महिला दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले मुद्दा दर्ता नगरेपछि न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर पुगेकी छन् ।

गत मंसिर ९ मा पचरौता नगरपालिकाको सुनसान कार्यालयभित्रै ३२ वर्षीय कार्यालय सहायक सञ्जय पासवानले २२ वर्षीया महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेका थिए । घटनाबाहिर आउँदा र प्रहरीमा उजुरी पर्दासमेत आरोपित पक्राउ परेका छैनन् । प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाए पनि मुद्दा दर्ता गरेको छैन । ‘घटना भएको दुई साता भइसक्दासमेत प्रहरीले मुद्दा दर्ता गरेन, छलफलका लागि ठाडो उजुरीमात्र लिएको छ,’ पीडित महिलाले भनिन्, ‘न नगर प्रमुखले चासो दिएका छन् न त प्रहरीले । त्यसैले न्यायका लागि मानवअधिकार आयोगमा निवेदन दिएकी छु ।’ घटना सामसुम पार्न जनप्रतिनिधिबाटै आर्थिक लेनदेनको प्रस्ताव आइरहेको पीडित महिलाले बताइन् । ‘घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले बिचौलियाका रूपमा आर्थिक लेनदेन गरी टुंगो लगाउन दबाब दिइरहेका छन्,’ ती महिलाले भनिन्, ‘मलाई न्याय चाहिएको छ ।’

पालिका कार्यालयनजिकै कोठा लिएर बस्दै आएकी ती महिला पालिकाको आफैं बस्ने कोठामा कम्प्युटरबाट पेन ड्राइभमा ‘डकुमेन्ट’ लिन जाँदा बलात्कार प्रयास भएको थियो । प्रहरी र नगर प्रमुखले छलफलका लागि मात्र बोलाउँदै आएको उनले बताइन् । नगर प्रमुख रमेश यादव घटना सामसुम गर्न लागेको उनको गुनासो छ । घटना भएदेखि पटक–पटक गरी दुई दिन छलफलका लागि बोलाए पनि आफैं सहभागी नभएर आफ्ना खास व्यक्तिहरूलाई परिचालन गरेको ती महिलाको भनाइ छ ।

नगर प्रमुख यादव भने सम्पर्कमा आउन चाहेनन् । प्रहरी उपरीक्षक दीपेन्द्रबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको दाबी गरे । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’

राष्ट्रिय मानवअधिकार आयोग जनकपुर प्रादेशिक कार्यालय प्रमुख वीरबहादुर बुढामगरले उजुरी दर्ता भएको र प्रहरीबाट लिखित जवाफ बुझेर घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवले महिला कर्मचारीबाट मौखिक जानकारी आएपछि आरोपित पासवानलाई आफूले हप्काएको बताए । ‘अरू समाधान हामीले गर्ने होइन, प्रहरीमा गएकाले उतैबाट अनुसन्धान होला,’ उनले भने । गत कात्तिक ९ मा पचरौता–१ स्थित पिपरपाती माविका विद्यार्थीले विद्यालयमा शिक्षक पदपूर्ति, कम्प्युटर प्रयोगशाला सञ्चालनको माग गर्दै कार्यालय तोडफोड गरेयता पालिका कार्यालय बन्द गरेर अन्यत्रैबाट काम भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com