म कोभिड एन्टीबडी बिनाको फ्रन्टलाइनर’
डा.शेरबहादुर पुन,
हाल कोभिड–१९ को उतार चढाव यूरोपमा देखिने क्रम जारी छ । नेपालमा पनि यसको तेश्रो लहर आउदैन भन्ने निश्चित र ढुक्क हुने अवस्था छैन भने, फ्रन्टलाइनरहरु कोभिड जोखिमको पहिलो लहरमा सँधै हुने गर्दछनन् । पछिल्लो अनुसन्धानहरुले दुई पूर्ण मात्रा खोप लगाएकाहरुमा एन्टीबडीको स्तर समयक्रम अनुसार खस्कदै जाने देखाएका छन् ।
नेपाल स्वास्थ अनुसन्धान परिषदले पनि केही समय अगाडि सार्वजनिक गरेको अध्ययनले दुई पूर्ण मात्रा खोप लगाएका नेपालीहरुमा एन्टीबडीको स्तर खस्कदै गइरहेको नतिजा सार्वजनिक गरेको थियो । तसर्थ यो स्वाभाविक हो, कोरोना संक्रमणले आफ्नो गतिलाई निरन्तरता दिइराख्दा आफू सुरक्षित छु र छैन भन्ने कौतुहलता वा चिन्ता शायद सबै फ्रन्टलाइनरहरुमा रहेको हुनुपर्दछ, र त्यो ममा पनि थियो ।
नतिजा, अघिल्लो अनुसन्धानहरुले देखाए जस्तै लेखकको पनि एन्टीबडी मापन गर्ने किटले निर्धारण गरेको स्तर भन्दा अधिक तल खस्किएको देखियो । लेखकको मात्र होइन कम्तिमा एक तिहाई फ्रन्टलाइनरहरुको नतिजा पनि लेखकको भन्दा फरक थिएन । कतिपय देशहरुले ‘बुस्टर डोज’ लगाउन शुरु गरिसकेको छ भने र कतिपयले लगाउने योजनामा पनि देखिन्छन् ।
अमेरिकाको खोप नियमन निकाय एफडीएले १९ नोभेमबर, २०२१ मा कोभिड–१९ को ‘बुस्टर डोज’ सबै उमेरकालाई दिन सक्ने अनुमति र सिफारिस गरेको छ । सो समय भन्दा अगाडिसम्म भने बिशेष स्वास्थ समस्या भएका तथा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई मात्र सिफारिश गरिएको थियो । र त्यो बेला फाइजरको खोपलाई मात्र अनुमति दिएको थियो ।
पहिले कुनै पनि खोपको पूर्ण मात्रा लिएको भएपनि फाइजर वा मोडर्न वा जोन्सन एण्ड जोन्सन मध्ये कुनै पनि खोपर कम्पनीका खोप ‘बुस्टर डोज’ को रुपमा ९मिक्स एण्ड म्याच० लिन सकिने भनिएको छ । जोन्सन एण्ड जोन्सन कोभिड–१९ को खोप लगाएकाहरुले दुई महिना र बाकी दुइ खोपहरुको ९फाइजर वा मोडर्न खोप० दोश्रो मात्रा डोज लगाएकाहरुले छ महिनापछि लगाउन मिल्ने भनिएको छ । अमेरिकी एफडीएका अनुसार ‘बुस्टर डोज’ लगाएको २९ दिनपछि कोभिड–१९ बिरुद्धको एन्टीबडी बुस्ट हुने भनिएको छ ।
तर नेपालमा भने कोभिशिल्ड र एक्स्ट्राजेनेका तथा सिनोफर्मा भेरोसेलका खोपहरु व्यापक प्रयोगमा आएका छन् । यद्यपी जोन्सन एण्ड जोन्सन र पछिल्लो समय फाइजरका खोपहरु पनि प्रयोगमा ल्याईदै छन् । विश्व स्वास्थ संगठनका विज्ञ टोलीको अक्टुबर ४–७, २०२१ मा बसेको बैठकले सिनोफर्मा भेरोसेलका खोपको ‘थप डोज’ अर्थात् तेश्रो डोज ६० बर्ष माथिकालाई दिनसक्ने निर्णय गरेको थियो । तर त्यस्तो सिफारिस भने सो समुदायको अधिकतम मानिसहरुले खोप लगाएपछि मात्र शुरु गर्न सुझाब दिएको छ ।
चीन, सिंगापुर, युएई आदि देशहरुमा भेरोसेल खोप लगाएकाहरुलाई ‘बुस्टर डोज’ दिन शुरु गरिसकेका छन् । बेलायतले पनि कोभिशिल्ड र एक्स्ट्राजेनेका लगाएकाहरुलाई ‘बुस्टर डोज’ लगाउन प्रस्ताब गरिसकेको छ । ब्रिटिश मेडिकल जर्नलमा जनाए अनुसार दुई मात्रा खोप (एक्स्ट्राजेनेका खोप) लगाएकामा फाइजरको (मिक्स एण्ड म्याच) खोप बुस्टरको रुपमा लगाउदा प्रापकलाई सहज र खोपको पनि बुस्ट–अप स्तर राम्रो देखिएको भनिएको छ ।
हाल कोभिशिल्ड र एक्स्ट्राजेनेका तथा सिनोफर्माको भेरोसेलका खोप लगाएका र लगाइरहेकाहरुमा ‘बुस्टर डोज’को बिशलेषण गरी नेपालले पनि सान्दर्भिक र उपयोगी निर्णय लिन सकिने छ । पछिल्लो समय सिनोफर्माको भेरोसेल खोप लगाएकाहरुले पनि ‘मिक्स एण्ड म्याच’ अर्थात् बुस्टर डोजको रुपमा अर्को कम्पनीको खोप लगाउन सकिने भनिएको विभिन्न सञ्चारका मध्यमहरुमा आइरहेका छन् ।
‘बुस्टर डोज’को आवश्यकताको बारेमा बैज्ञानिकहरु बीच एकरुपता भने देखिदैनन् । कतिपयले एन्टीबडी घट्नु स्वाभाविक भएतापनि खोप दिएपछि वा प्राकृतिक रुपमा संक्रमण भएपछि बिकसित हुने ‘बी’ तथा ‘टी’ जस्ता कोषिकाले भाइरसलाई निष्क्रिय पार्ने वा जटिल अवस्था आउन नदिने हुनाले ‘बुस्टर डोज’को आवश्यकता नपर्ने जस्ता तर्कहरु पनि अगाडि सारिरहेका छन् ।
वास्तवमा, अमेरिकामा गरिएका अनुसन्धानहरुले दुइ मात्रा पूर्ण खोप लगाएका मध्येमा मृत्यु बढी ६० बर्ष माथिकाहरु देखिएका छन्, र यस्तै अवस्था अरु देशहरुमा पनि देखिरहेको हुनसक्दछ । केही दिन अगाडि लेखकले एक ७८ वर्षीय जेष्ठ नागरिक दुइ मात्रा पूर्ण खोपका बाबजुत पनि कोरोना संक्रमित भई मृत्युबरण गर्नु परेको देखिएको थियो । सायद त्यसैले पनि होला विश्व स्वास्थ संगठनका बिज्ञहरुले भेरोसेलका खोपको ‘थप डोज’ अर्थात् तेश्रो डोज ६० बर्ष माथिकालाई दिन सक्ने निर्णय गरेको र सुझाब दिएको देखिन्छ ।
छोटकरीमा, ‘बुस्टर डोज’ आवश्यकताको बारेमा आगामी दिनहरुमा थप छलफलरबहसको बिषय बन्दै जानेमा दुई मत देखिदैन । कोभिड डेडिकेटेक अस्पतालमा कार्यरत ‘म कोभिड एन्टीबडी बिनाको फ्रन्टलाइनर’ चिकित्सक भएको र अरु सहकर्मी स्वास्थकर्मीहरुमा पनि एन्टीबडी नदेखिदा सुरक्षाको बिषयलाई लिएर ‘बुस्टर डोज’को बहस हुनु अस्वभाबिक होइन ।
नेपालले कुन समूह वा उमेर वा कस्ता स्वास्थ अवस्था भएकालाई ‘बुस्टर डोज’को आवश्यकता पर्दछ, भनेर अनुसन्धान गर्दै उपयुक्त तर सटिक र छिटो निर्णय लिनुपर्ने समय आइसकेको छ । किनभने नयाँ–नयाँ कोरोनाको भेरियन्टहरु देखिने क्रम अहिले र आगामी दिनहरुमा नहोला भन्न सकिदैन ।
(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक हुनुहुन्छ)