२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

कांग्रेसको सभापति उम्मेदवारी दर्ता आज, देउवा र सिटौलाको समीकरण बन्ने सम्भावना

काठमाण्डौ ( नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदैछ । सभापतिसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि चुनाव गर्ने तयारी छ ।

आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाण्डौको राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि भोलि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । पर्सि सोमवार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । नयाँ नेतृत्वको लागि चार हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

यसैबीच नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार हुनुभएको छ ।

सिटौलाले महामन्त्रीमा युवा नेता प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सार्नुभएको छ । महामन्त्रीका लागि संस्थापन समूहमै आकाङ्क्षीहरु धेरै छन् । डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मालगायत नेताहरुले महामन्त्रीमा दाबी गरेका छन् । आठ सहमहामन्त्रीका लागि दुई दर्जन नेताहरूले दाबी गरिरहेका छन्।

संस्थान इतर समूहले अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन । हिजो बेलुकी अबेरसम्म भएको छलफलमा पनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाको अडान कायमै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति जुटाउने प्रयास भए पनि सिंह र कोइरालाले अडान नछाड्दा टुङ्गो लाग्न नसकेको हो । यो समूहले पदाधिकारीका अन्य उम्मेदवारबारे अझै छलफल गरेको छैन । आज मनोनयन दर्ता गर्नु अघिसम्म पनि सहमतिको प्रयास हुने नेताहरुको भनाइ छ ।

कांग्रेस विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफूमध्येबाट निर्वाचित गर्ने व्यवस्था छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com