सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन दिन्नौं : अध्यक्ष नेपाल
नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धन फुटाएर एमसीसी पास हुन नदिने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन फुटाएमा एमसीसीमा समर्थन जनाउने अभिव्यक्तिलाई लक्षित गर्दै सत्तागठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने बताए।
‘अहिले फेरि फुर्ती देखाइरहेका छन् कि एमसीसीलाई लिइकन यो गठबन्धन तोड्नु पर्छ। गठबन्धन तोड्ने हो भने एमसीसीमा हाम्रो समर्थन हुन्छ भन्ने समाचार आइरहेका छन्। भनेपछि केपीको पार्टी प्राइभेट कम्पनीको विचार के हो ? एमसीसीलाई हेर्ने दृष्टिकोण के हो ?’, उनको भनाइ थियो, ‘अहिलेको राजनीतिक जटिल परिस्थितिमा केही पार्टी सत्तागठबन्धनमा खेल्न चाहिरहेका छन्। लडाउन र बल्झाउन चाहिरहेका छन्। त्यसको फाइदा उठाउन खोजिरहेका छन्। हामी त्यो चालबाजीलाई सफल हुन दिने छैनौं।’