कसैलाई माफ गरिदिनू आफ्नै आँखा, कान र मनलाई नयाँ जीवन दिनु हो :सृजना पोख्रेल
सृजना पोख्रेल
मनमा कसैका लागि ठीक छ, ल मैले तिमीलाई माफ गरिदिएँु भन्ने वाक्य हुनु तर त्यो ठीक छु सुन्ने मान्छे नै नरहनु, ठीक हुन्न रहेछ।
२०६९– मेरा आँखाले पहिलोपल्ट मृत्यु देखेँ। आँखामा राखे पनि नबिझाउने साथी आँखैअगाडि ढल्यो। कक्षाकोठामै।
अघिल्लो दिन सरले भन्नुभएको थियो, भोलि सबैले घरमा यो पाठ पढेर आउने। अनि एक जनाले अगाडि गएर साथीहरूलाई पढाउने है त।
ऊ सधैं अगाडि जान खोज्ने मान्छे थिएन। तर त्यो दिन खै किन हो, यति सुन्दैमा दंग परिहाल्यो। को–को साथीलाई के–के सोध्ने, एक-एक प्रश्न तयार पारेर बसेको थियो।
भोलिपल्ट क्लास सुरू भयो। सर आउँदाआउँदै, ऊ आफैं म पढाउँछु निु भन्दै उठ्यो। सरले मान्नुभयो। ऊ मार्कर र डस्टर बोकेर सेतो पाटीतिर गयो। अगाडि गइरहँदा उसको अनुहारको उज्यालोलाई उसले लगाएको सेतो सर्टको चमकले पनि छोप्न सकेन। हामी सबै, अब साथी पछाडि फर्केर पढाउँछ होला भन्दै पर्खिरहेका थियौं।
ऊ पछाडि फर्कियो। तर पढाएन।
दुई सेकेन्ड चुप्प लाग्यो। सबैतिर हेर्यो। अनि बोल्यो, सर आई का……न्टा
ढल्यो।
तुरून्तै अस्पताल लग्यौं। साथी मुटुको बिरामी थियो, सबलाई थाहा थियो। त्योभन्दा अगाडि पनि एक(दुईपटक ढलेको हो। ढलेर उठेको हो। हामी ढुक्क थियौं, साथी यसपालि पनि उठ्छ।
सँगैको साथीलाई कहिल्यै नउठ्ने गरी सेतो कपडाले छोपेको देख्न हामी कोही पनि तयार थिएनौं। तर बचेका बाँच्नेहरू तयार छैनन् भन्दैमा कालले पर्खिदैन रहेछ।
ऊ गयो।
जानुभन्दा केही दिन मात्रै अघिको कुरा हो, स्कुलकै कामले जमघट थियो सानो। एक्कासि हामी निशानामा पर्यौं। हामी अर्थात म र मेरा दुई केटी साथी।
चारमा पढ्दादेखि तीन केटी जुकाजसरी टाँसिएका थिए। दसमा पुगेपछि एकाएक जुकामाथि नुन पर्यो। अलिअलि कुरा काट्दा काट्दै, ठ्याम्मै बोलचाल नै बन्द भयो। कसैले किन रिसाएका हौरुु भनेर सोध्दा, सुनाउन सकिने केही कारण थिएन।
तर कारण बिनाकै रिस झन् कडा निस्कियो। हामी तीनमध्ये कसैले पनि फेरि मिल्ने कोशिस गरेनौं।
त्यो दिन ऊ पनि सँगै थियो। हामी तीन जना नबोले पनि सँगै थियौं। उसले यस्तै मौका कुरेको रहेछ। अब हप्काउन थाल्यो।
केटाकेटीजस्तो के गरेको योरु जे-जे चित्त दुख्याछ भन्नू बरू। कुरा सुन्नू एकअर्काको, के ठुसठुस हो, गिज्यायो।
अनि सम्झायो अब मिल, माफ गर्देऊ एकअर्कालाई।
हामीले सुन्यौं।
त्यतिका धेरै साथीका अगाडि नाइँ भन्दै जिद्दी गर्न मिलेन। फेरि बच्चा जसरी लडे पनि आफूलाई बच्चा देखाउनु त थिएन। हामी मिल्यौं। कम्तीमा उसको अगाडि मिलेजस्तो गर्यौं।
मिलेजस्तो चाहिँ किन भन्दा, अरूको त म के जानूँ, मेरो रिस चाहिँ मरेको थिएन। कडा रिस अझै ठङठङ थियो, पग्लिएन। सायद मैले झगडा गर्न सिकेँ, मिलाएपछि मिल्न सिकेँ, साथीले सुझाएको मान्न पनि सिकेँ। तर माफ गर्न भने अझै सिकिनँ।
मैले माफी जान्न भ्याएकै थिइनँ, मेरो साथीले चाहिँ माथि जान हतार गर्यो।
ऊ गयो।
जब ऊ गयो, तब बल्ल मेरो रिसले सिक्न भ्यायो। त्यो दिन, मैले माफ नगरेका दुई साथी उसलाई सम्झिँदै रोइरहेका थिए। म चाहिँ उसलाई सम्झेर, उनीहरूलाई हेरिरहेकी थिएँ। टुलुटुलु।
हेर्दाहेर्दै हामी एकअर्कासँग रिसाएका तीन केटीबाट एउटै दुःख रोइरहेका तीन साथी बन्यौं। अन्तिमपटक सजिलोसँग बोल्न पनि नपाएको साथीले हामीलाई सिक्न समेत सिकाएर गयो।
आजसम्म यति भन्ने आँट कहिल्यै जुटेको थिएन। आज हिम्मत गरेँ। यदि छाडेर जानेको ऊर्जाले कसैगरी कतैबाट सुन्छ भने, यो कुरा ऊसम्म पुगोस्।
धन्यवाद विवेक।
मलाई माफीले कसरी मान्छेलाई निको पार्छ भन्ने कुरा सिकाउने पहिलो मान्छे तिमी हौ।
तिमी जाँदा त मैले माफ गर्दै बोलाउन चाहेका साथीहरू मसँगै, मेरैअगाडि थिए। आज सोचेँ, यदि त्यो बेला मैले रिस साँधेको मान्छे उनीहरू नभएर तिमी भएको भएरु म आफूलाई कसरी माफ गर्थेँ होलारु
अहिले मैले आजसम्म जन्माएका सबै सम्बन्ध मेरो काखमा छैनन्। कतिसँग बिना कारण बोलचाल बन्द भयो। कतिले गरेको गलत यसरी याद छ कि अहिले सम्झिँदा पनि आफैंलाई आफ्नो दया लाग्छ। जिउ तात्ने गरी रिस उठ्छ। रिसाउनेहरूसँग माया पनि थियो। तर मायालाई गुनासोले जित्यो।
कुनै बेला माफ गरिदिऊँ कि, बोलाऊँ कि लाग्दा म आफैंलाई सम्झाएर भन्थेँ –रिसलाई पनि उसको भागको समय दिनुपर्छ। समय बितेपछि चित्त दुखाइ बिस्तारै धमिलिँदै जान्छ। अनि केही वर्षपछि त आफैं मेटिइहाल्छ नि।
तर आज सोचेँ, यदि यो रिस मर्ने समय नबित्दै म नै बितिगएँ भनेरु यी जोसँग रिसाएकी छु, उनीहरूको के हुन्छरु कोही मान्छे मरेर जाँदा पनि आफ्ना लागि मनभरि रिस बोकेर गयो भन्ने बोझ कति भारी हुन्छ होला !
आज तिमी गएको ९ वर्षपछि म फेरि तिमीले सिकाएकै पाठमा फर्किँदैछु। मलाई आजसम्म दुखाएका सबैसबैलाई माफी भयो।
गल्ती गर्नेले जानेर गर्यो या नजानेर, त्यो पछि जानौंला। ऊ अहिले पछुताउँछ कि गल्ती स्वीकारेकै छैन, त्यो पनि बुझौंला। कसैलाई सुधार्न बाँकी होला, सजाय बाँकी होला। कोही फर्केर आउला नआउला, सब सोचौंला। तर यी सबैभन्दा पहिले, गलतको गाह्रो भोगिरहेको आफ्नै मनलाई थपक्क बसाएर थपथपाउन जरूरी रहेछ। माफी त्यही थपथपाउन चाहिने न्यानो स्पर्शु रहेछ।
कतै कोही रिसाएको, कसैलाई गाली गरिरहेको मान्छे देख्नेबित्तिकै सबै सोच्छन्, ऊ त रिसाइदियो, पुग्यो। सुन्नेलाई, सहनेलाई कति पीडा छ।
तर रिसाइरहेको मान्छेको पीडा रिस भोग्नेको भन्दा पनि पुरानो हुन्छ। जसले रिस सहन्छ, उसलाई त अर्को मान्छेले गाली गरेपछि बल्ल दुख्न सुरू हुने हो। रिसाउनेको छटपटी त मनमा रिस उब्जेको क्षणमै जन्मिसक्छ। त्यो छटपटी कुहिने गरी मनमा बसेपछि बल्ल घृणा, गाली बनेर मुखबाट निस्कने हो।
त्यसैले रिस सकिँदा, रिस सहिरहेको मान्छेभन्दा पनि बढी रिसाइरहेको मान्छेले मुक्ति पाउँछ। माफी त्यही मुक्तिको बाटो हो।
जबसम्म भित्र मन निको थिएन, मैले बाहिर सबथोक ननिको देखेँ। कसैले सौन्दर्यको कुरा गर्दा, त्यो त बस् अज्ञान ढाक्ने भ्रम हो जस्तो लाग्थ्यो। अरू सबै जरूरत पुगेका मान्छेहरूको फजुल सौखजस्तो। कसैले मन शान्तिको कुरा गर्दा त्यो प्रवचन ढोङजस्तो लाग्थ्यो। यो सब जे छ, त्यसलाई बदल्न नसकेपछि स्वीकारेको लाचारी हो भन्ने लाग्थ्यो। कोही अति विनयशील मान्छे देख्दा लाग्थ्यो, ऊ चाप्लुसी गरिरहेछ। विनम्रता विद्रोह गर्न नसक्नेहरूले स्वीकारेको हार हो जस्तो। भित्र आफ्नो मन निको नहुन्जेल, बाहिर सबथोक निरस, ननिको लाग्नै रहेछ।
आफू निको नभएरै अरूको गलतलाई सजाय दिन खोज्दा, गलत गर्नेले सजाय त पाउँछ, आफ्नो मनले शान्ति चाहिँ पाउँदैन। किनकी सजाय थाहै नदिई कुन बेला बदला बनिसकेको हुन्छ। अनि यो बदलाले पहिल्यै रिस, घृणा, विद्रोहमा घुम्दाघुम्दा थाकेको मान्छेलाई अर्को नयाँ भूमरीभित्र जाकिदिन्छ।
मैले यी जो जोलाई माफ गरिदिएँ, उनीहरूलाई सजायबाट उम्काएकी होइन। यसै पनि आफूले माग्दै नमागी पाएको माफी आफैंमा सबभन्दा ठूलो सजाय हो। मेरो माफीले कसैको गलतलाई सही ठहर्याउने पनि होइन।
होला, कहिलेकाहीँ माफ गरिदिएर आफू निको भएपछि ती गल्ती गर्नेको कहिल्यै नदेखेको पाटो स्पष्ट देखिएला। गल्ती गर्नु र गलत चाहनुको अन्तर पनि देखिएला। तर फेरि पनि कसैले नचाहेरै गरेको किन नहोस्, अन्याय त अन्याय हो।
घाउ किन भयो भन्ने कारण बुझ्दैमा घाउको दाग त हट्दैन। त्यसैले आज माफ गरेपछि पनि दुखाउनेहरूको गलत याद त रहन्छ नै। तर अब त्यति मात्र याद रहन्छ कि त्यो दुखाएको मान्छेले उसको भागको सजाय पनि पाओस् अनि कुनै पछुतोले आफ्नो आत्मा नखाओस्।
माफीले माफ गरिदिएको मान्छेसँग सम्बन्ध सुधार्छ भन्ने छैन। सुधार्न पनि पर्दैन। बस् यतिन्जेल मनमा थन्किबसेको रिसले आफूलाई बिगार्न चाहिँ छाडिदिन्छ। अब आफैंसँगको सम्बन्ध सुध्रिन सुरू हुन्छ। जिन्दगीमा त्यो रिस र रिसाएको मान्छेबाहेक अरू के-के छ, सब देखिन थाल्छ। सुन्दर देखिन थाल्छ।
मान्छेहरू प्रेमले आँखा छोप्छ भन्छन्। प्रेमले त कम्तीमा प्रेम गरेको मान्छेलाई त देख्छ। घृणाले त घृणा गरेकै मान्छेलाई समेत देख्न छोडिदिन्छ। ऊ जेसुकै बोलोस्, सुन्न छोडिदिन्छ। आँखा र कान यसरी काम गर्न थाल्छन् मानौं, ती सौन्दर्यका लागि बनेकै होइनन्। मन यसरी काम गर्न थाल्छ मानौं, ऊ आनन्दका लागि बनेकै होइन।
कसैलाई माफ गरिदिनू आफ्नै आँखा, कान र मनलाई नयाँ जीवन दिनु हो।
मैले आज मलाई आजसम्म दुखाएका सबैसबैलाई माफ गरिदिएँ। मेरै लागि।
(सृजना पोख्रेल)