नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित
पोखरा — १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा सोमबार उनले ५५ वर्षमाथिको सिंगल र डबल्स दुवै इभेन्टमा जित हासिल गरेका हुन् ।
सिंगलतर्फ थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले । उक्त उमेर समूहको डबल्समा झ्याम्पा ढुन्डुपलाई साथी बनाएका थापा जोडीले विदुर बिष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए ।
अन्य खेलमा मेन्स ओपनतर्फ नेपालका शीर्ष वरीयता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६–१, ६–२ ले, विष्णु नेपालीले गौरवप्रताप शाहलाई ६–१, ६–३ ले, नेहार जंगबहादुर थापाले प्रमोदबहादुर थापालाई ६–०, ६–० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६–०, ६–० ले, अक्की जुवेन रावतले सौगात विकलाई ६–०, ७–६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६–०, ६–२ ले पराजित गरे । वुमन्स सिंगलतर्फ सलोनी तामाङले रायना शाहलाई ६–४, ६–३ ले, शर्भानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ६–२ ६–० ले, भगवती विकले श्रेया भट्टराईलाई ६–३, ६–३ ले तथा गंगा शर्माले सुभांगी लक्ष्मी शाहलाई ६–१, ६–३ ले पराजित गरिन् ।