२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

लोकदोहोरीमा छाडा शब्द प्रयोग गर्नेलाई कारबाही हुनुपर्छ : गायक रविन लामिछाने

गायक रविन लामिछानेको पछिल्लो समय ‘पछ्यौरी लिस्यो’ बोलको गीत हिट छ । गोर्खाको तान्द्राङमा जन्मिएर सानैदेखि लोकदोहोरी गाउँदै हुर्किएका उनका ‘फुल्यो असारे’ झल्लुराम ‘हुने वाली बुहारी’ लगायत थुप्रै गीत हिट छन् । रविन लाइभ दोहोरी कलाकार पनि हुन् ।

हालै रविन ‘प्रत्यक्ष लोकदोहोरी कलाकार संघ’को अध्यक्ष भएका छन् । लाइभ लोकदोहोरी फोहोरी भयो, यसले गीतसंगीतमा विकृति भित्र्यायो भनेर आरोप लागिरहेको समयमा प्रत्यक्ष लोकदोहोरी कलाकार संघको नेतृत्व गर्दै विकृति विरुद्ध कदम चाल्नु उनलाई चुनौतीपूर्ण छ । प्रस्तुत ट, लाइभ लोकदोहोरीमा भित्रिएको विकृतिका विषयमा केन्द्रित रही गायक रविन लामिछानेसँग गरेको कुराकानीको सम्पादित अंशः

लाइभ लोकदोहोरी फोहोरी भयो भन्ने आरोपबारे के भन्नुहुन्छ ?

हैन, हैन, म त्यो मान्दै मान्दिनँ । दोहोरीमा साँच्चिकै राम्रो, मन छुने बिषयबस्तु हुन्छ । अर्को कुरो अहिलेका दर्शक छाडा दोहोरी मन पराउँदैनन् । कसैले छाडा दोहोरी बनाएका छन् भने त्यो दोहोरीको कमेन्ट बक्समा गएर हेर्नुस् त एकपटक । तिनलाई सर्वसाधारणले धेरै गाली गरेका हुन्छन् । भ्यूज जाने सवालमा छाडा दोहोरी गाउँदा चर्चा हुन्छ भन्नेमा म विश्वास गर्दिन ।

लाइभ लोकदोहोरी फोहोरी भनेर भन्न मिल्दैन । जुनसुकै क्षेत्रमा व्यवसायिक रुपले अगाडि बढ्दै जाँदा केही कुरो नराम्रो हुनु, केही विकृति देखिनु सामान्य कुरो हो । हो, कतिपय ठाउँमा छाडा दोहोरी पनि देखिएको छ । हजारौ दोहोरीमा दुई तीनवटा छाडा दोहोरी आयो भन्दैमा समग्र रुपले फोहोरी भयो भन्न नमिल्ला । मलाई त अहिले दोहोरी फोहोरी भयो भन्ने अवस्था आइसकेको जस्तो लाग्दैन ।

लोकदोहोरी किन फोहोरी ?
पछिल्लो समय लाइभ लोकदोहोरीमा प्रयोग भएका द्विअर्थी शब्दको प्रयोग धेरै भएको पाइन्छ, के यो जायज हो त ?

लोकदोहोरीमा द्विअर्थी शब्द जायज हुँदै होइन । त्यस्तो प्रयोग नगर्न र त्यस्ता चिज लोकगीतसंगीतबाट हट्नुपर्छ भन्ने हिसावले हामी अगाडि बढिरहेका छौं । दोहोरी एउटा कथामा रहेर गाउनुपर्ने हुन्छ, त्यो भित्रको बिषयबस्तु अर्कै हुन्छ । बीचको एउटा टुक्रा मात्रै काटेर टिकटकमा हालिदिदा त्यो कुन विषयवस्तुमा गाइएको थियो, त्यसको सन्दर्भ के थियो भन्नेतिर थाहा नपाई आरोप आएका हुन् । रमाइलोका लागि दोहोरी गाउँदा श्रृंगारिक शब्द आउँछ, साहित्यमा पनि पहिले देखि नै चलिआएको हो । तर सिधै अश्लील, छाडा शब्द प्रयोग हुनु जायज होइन ।

लाइभ लोकदोहोरी आउन थालेपछि लोकदोहोरीको व्यावसायिकता बढेको छ भन्न खोज्नु भएको हो ?

त्यो सत्य कुरो हो । हिजोको दिनमा दोहोरी नसुन्ने मानिस अहिले दोहोरी सुन्ने भएका छन् । दोहोरीको उचार्इं लाइभ दोहोरीले माथि पुर्याएको हो । व्यावसायिक पाटोमा पनि यसले धेरै योगदान गरेको छ । कैयौं एल्बम निस्किँदा एउटाले पनि लगानी उठान नसकेर करोडौको लगानी खेर गएको अवस्थामा अहिले धेरै लाइभ दोहोरी च्यानल खुलेका छन् । त्यसबाट राम्रो कमाइसँगै धेरैले
रोजगारी पाएका छन् । त्यो सकारात्मक पक्ष होइन र ?

लाइभ लोकदोहोरीमा अरुको भाका किन चोर्ने, आफ्नो भाका ल्याउन सकिन्न ?

लाइभ लोकदोहोरी हामीले पहिलेदेखि नै गाउँदै आएको बिषय हो । कतै यसलाई रोधी, रत्यौली त कतै मेलापातको बसिबियालो भन्ने गरिन्थ्यो । यसमा चलिआएको र आफूलाई मनपरेको भाकामा गाउने चलन रहिआएको छ । अर्को कुरो लाइभ दोहोरीको एउटा विषेशता, सुन्दरता र यसको चलन चल्ती भनेकै चर्चित भाकामा गीत गाउने हो । लाइभ लोकदोहोरी गाउँदा तत्कालै भाका बनाउन पनि सकिन्न । यसलाई अन्यथा लिनु हुन्न ।

अरुको भाका गाउँदा रोयल्टी दिनु पर्दैन त ?

दिनुपर्छ, त्यसको निश्चित मापदण्ड बन्यो भने रोयल्टी दिनुपर्छ नै । किनभने सर्जकले कति दुःख गरेर गीत सिर्जना गरेको हुन्छ । धेरै लगानी गरेर बाहिर ल्याएको हुन्छ । त्यो भाका व्यवसायिक रुपमा प्रयोग गर्दा रोयल्टी दिनुपर्छ । कति दिने र कसरी दिने र को मार्फत् दिने भन्ने त्यसको मापदण्ड अहिले बनेको छैन । मापदण्ड बनेपछि सर्जकका लागि उनीहरुको भाका प्रयोग गरेबापत हामी लाइभ लोकदोहोरी गायकहरुले रोयल्टी दिन तयार छौं ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानले लाइभ लोकदोहोरीले गर्दा दोहोरी गीत फोहोरी हुन थाल्यो त्यसको नियन्त्रण जरुरी भएको छ भन्छ नि ?

मैले पनि त्यो कुरो सुनेको छु । प्रतिष्ठानले भनेजस्ता गीत पनि केही आएका छन् । त्यो हामीले स्वीकार्नु पर्छ । ती बिषय कम गर्न हामी र लोकदोहोरी प्रतिष्ठान सबै मिलेर लाग्नुपर्छ । हामी सबैले एउटै साझा एजेन्डा बनाएर अगाडि बढ्नुपर्छ । छाडा दोहोरी जायज छ, त्यो हुनुपर्छ भन्ने पक्षमा मेरो विचार कहिल्यै छैन ।

हरेक राम्रो पक्षसँग नराम्रो पक्ष जोडिएर आउने गरेको छ । खेतमा झुलिरहेको धानभित्र पनि झार हुन्छ । त्यो झार गोडेपछि धान राम्रो फल्ने हो । त्यस्तै लाइभ दोहोरीको विकृति पनि त्यस्तै झारजस्तै हो । हामीले यसलाई गोड्नुपर्छ ।

यसको विकृति विसंगति निराकरणका लागि केही योजना बनाउँदै हुनुहुन्छ कि ?

‘प्रत्यक्ष दोहोरी कलाकार संघ’ म जस्तै लाइभ लोकदोहोरी गाउने व्यक्तिहरुको संस्था हो । लोकदोहोरीको विकृति विसंगति निराकरणका लागि हामी मात्र होइन, गीतसंगीतसँग सम्बन्धित संघ संस्था छन्, ती सबैले लाइभ दोहोरीलाई व्यवस्थित गर्ने विषयमा केन्द्रित हुनुपर्छ । किनभने अहिले गीतसंगीतमा ब्यवसायिक रफ्तार लिएको भनेकै लाइभ लोकदोहोरीले हो । बजारमा दर्शकले सबैभन्दा धेरै यो रुचाउँछन् । यसमा कसले विकृति ल्याएको छ, तिनलाई सम्झाउनु पर्यो । कारबाही गर्ने अधिकार छ भने कारबाही गर्नुपर्यो ।

संघको अध्यक्षको नाताले चुनौती के कस्तो देख्नु भएको छ ?

चुनौती धेरै छन् । म फेरि पनि भन्छु कि अहिले व्यवसायिक रुपमा सबैभन्दा सफल र चर्चा परिचर्चामा रहेको गीतसंगीत भनेकै लाइभ लोकदोहोरी हो । लाइभ दोहोरीको कलाकारको नेतृत्व गर्दै गर्दा यहाँ चुनौतीका चाङ देखेको छु । ती मध्ये विकृति, रोयल्टी ब्यवस्थापन लगायत धेरै छन् । त्यो चुनौती सजिलै पार गर्ने विश्वास राखेको छु ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com