२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

खेलकुदलाई शिक्षाको मूल विषय बनाइने

रासस

खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सरकार, समाज, विद्यालय र घरपरिवारमै खेलकुदप्रतिको बुझाइ, सोच र व्यवहारमा परिवर्तनको खाँचो औँल्याए ।

राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए तापनि खेलकुद क्षेत्रलाई समाजमा बाटो विराएको विधाका रुपमा हेरिने गरिएको छ । अध्ययनभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई घर परिवारमात्र होइन, विद्यालय र समाजबाट समेत नकारात्मक भाव राख्ने प्रवृत्ति कायम नै छ । यस्ता चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ । उनी भन्छन्, “खेलकुदप्रतिको बुझाइमा पछिल्ला समय केही परिवर्तन आए तापनि राज्यले खेललाई शिक्षासँग अझै जोड्न सकेको देखिन्न । शिक्षा प्रमुखः खेल अतिरिक्त भन्ने समाजको बुझाइमा सच्याउन जरुरी छ ।”

शिक्षालाई जागिर खाने, व्यवसायमा प्रवेश गरी आर्जन गर्ने माध्यमका रुपमा बुझिन्छ भने खेलकुदलाई व्यक्ति विशेषका रुचिसँग मात्रै हेरिएको छ । अभिभावकले मात्र हैन शिक्षकले समेत खेलिरहेका बालबालिकालाई हप्काउने प्रवृत्तिले खेल क्षेत्रकै विकासमा बाधा अड्चन खडा गरेको छ । आफ्ना बालबालिका खेल विधामा प्रवेश गरेको भनी गौरव गर्ने अवस्था अझै समाजमा विकसित भइसकेको देखिन्न, जुन चिन्तनमा अब व्यापक सुधारको खाँचो छ ।

शक्तिशाली र आर्थिक पाटोबाट समृद्ध मुलुकका उच्च ओहोदाका व्यक्तिको तुलनामा खेलाडीप्रतिको इज्जत, प्रतिष्ठा र सम्मान माथि छ । ब्राजिल, जर्मन, स्पेन, बेल्जियम, डेनमार्क, क्यामरुन, अर्जेन्टिना, इटालीलगायतका मुलुकमा खेलाडीको हैसियत संसारका कुनै राजनीतिक खेलाडीभन्दा कमजोर छैन ।

दक्षिण एसियाली मुलुककै कुरा गर्दा पनि यस क्षेत्रका क्रिकेटप्रतिको सम्मान कुनै राजनेताभन्दा बलियो छ । युरोेपेली र अफ्रिकी देशमा फुटबल खेलाडीप्रति लोकप्रियता अझ शिखरमा छ । विश्व वरियातामा रहेका क्रिकेट होस् वा फुटबल खेलका चर्चित खेलाडी युवापुस्तका लागि मात्र होइन, हाम्रै मुलुकका कयौँ पुराना नेताका फ्यान छन् । विश्वका प्रमुख खेलाडीको नाम अहिलेको युवा पुस्तामा मुखाग्र छ, तर त्यही देशका राजा, राष्ट्रपति वा प्रधानमन्त्रीको नाम जान्दैनन्, चिन्दैनन् । कुनै मुलुक विशेषभन्दा खेल रङ्गशाला र मैदानको नाम कण्ठस्थ छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बताउनुहुन्छ, “राज्यको उच्च प्राथमिकतामा राखिनुपर्ने खेलकुद क्षेत्रलाई आवश्यकताका आधारमा नभई दयाका आधारमा बजेट छुट्याइने गरेकोप्रति गम्भीर असहमति छ । खेलकुदप्रतिको बुझाइमा व्यापक परिवर्तन ल्याउनपर्छ ।” राजनीतिक दलले खेलाडीलाई सत्तामा पुग्ने भ¥याङकारुपमा प्रयोग गर्दै आएको समेत आरोप छ ।

मुलुकमा अरु क्षेत्र जस्तै खेलकुदमा पनि राजनीतिक हस्तक्षेप चुलिएका कारण प्रतिभाशाली खेलाडी अवसर प्राप्तिमा ओझेलमा पर्ने गरेको घटना सुनिँदै आएको छ । राजनीतिक हस्तक्षेपकै कारण कतिपय प्रतिभावान खेलाडीको मनोबल घटाएको छ, कमजोर तुल्याएको छ । खेलकुद विधामा लागेकै कारण हाम्रै कतिपय नेपाली खेलाडी विश्वमा कहलिएका छन् । विभिन्न देशका रङ्गशाला हुन वा खेल मैदानमा मुलुकको शान राष्ट्रिय झण्डा फहराउने र राष्ट्रिय गान घन्काउने अवसर खेल विधाले मात्रै प्रदान गर्दैआएको छ ।

खेलकुदका लागि पूर्वाधार, प्रतिभाशाली खेलाडी छनोट र प्रतियोगिता आवश्यक शर्त मानिन्छ । खेल विधा र खेलाडीको महत्व समाजलाई मात्र होइन, सरकारलाई पनि बुझाउन जरुरी छ । मुलुकको खेलकुद क्षेत्रको बजेट विनियोजनको परम्परागत ढर्राले न खेल नत खेलाडीलाई नै प्रेरित गर्न सकेको छ । खेलकुद विधालाई आकर्षित गर्न यसलाई पेसा व्यवसाय बनाएर आयआर्जन गर्न सकिन्छ भन्ने मान्यता र मानसिकता स्थापित गर्न आवश्यक देखिएको छ ।

विश्वका धेरै देशमा पर्यटक भित्र्याउने र आर्थिक उपार्जन गर्ने मुख्य माध्यम नै खेलकुद बनिरहेको छ । खेलकुदले मानिसलाई समूहमा काम गर्न र समयको महत्व सिकाउँछ । खेलकुदको विकासमा रेफ्री र प्रशिक्षकको पनि ठूलो हात रहन्छ । खेलकुद क्षेत्रमा लागेर आयआर्जन गरेको विगतमा हामी कहाँ उदाहरण नभए पनि पछिल्ला समय कयौं खेलाडी विभिन्न क्लबमा अनुबन्धन हुनु यस क्षेत्रका लागि सफल उदाहरण हो ।

सचिव रेग्मी भन्छन्, “विद्यालयस्तरबाटै खेलकुद र पढाइलाई सँगसँगै लैजानुपर्छ । खेलकुदसग सम्बन्धित विद्यालय, एकेडेमी र विश्वविद्यालय खोल्न पर्छ । पढाइमा सबै विद्यार्थीको एउटैस्तर हँदैन । कुन कक्षाबाट कुन विद्यार्थीलाई कसरी खेलसँग जोड्ने भनी स्पष्ट नीति ल्याउनुपर्छ ।” प्रतियोगिता र प्रतिस्पर्धा नहुँदा प्रयोग गर्न नपाएर विद्यार्थीबाट खेल्नेमात्र काम भएको बताउँदै उहाँले विद्यालय तहमै खेलकुदका गतिविधि र प्रतिस्पर्धा बढाउन अब बालबालिकाका लागि खेल प्रतियोगिता हुन प¥यो, त्यसका लागि मन्त्रालयले कार्ययोजना बनाउने तयारी गरेको छ ।

बालबालिका तहमै खेलकुदलाई प्रवद्र्धन गर्ने हेतुले ओलम्पिकमै पनि चिल्ड्रेन विधा जोडी सकिएको छ । मुलुकका बालबालिका र युवा जनशक्तिलाई खेलकुद क्षेत्रमा प्रेरित गर्न तलबभत्ता, पुरस्कार र पेन्सन सुनिश्चित गर्न सल्लाह दिइएको छ । खेलकुद विधालाई शिक्षासँग आबद्ध गर्न, आयआर्जनका लागि पेसा÷व्यवसायसँग जोड्ने तथा खेलकुद विद्यालय नै खोल्न विज्ञको सुझाव छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com