विद्यार्थीहरुको समस्या समाधान गर्न राज्यले तत्परता देखाएन: अध्यक्ष हरिकृष्ण गजुरे

काठमाडौं । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरुले आफूहरुलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क अशुल गर्न खोजेको आरोप लगाएका छन् । त्यो आफूहरुलाई कदापि मान्य नहुने पनि उनीहरुको भनाइ थियो ।
पत्रकार सम्मेलनमा विद्यार्थीहरुले उक्त मेडिकल कलेजमा आफूहरुको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफुहरुलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका हुन् ।
उनीहरु गत मंसिर २८ गतेदेखि निरन्तर आन्दोलनरत छन् । विद्यार्थी तमन्ना कार्कीले तीन महिनादेखि जारी रहेको आफूहरुको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताए ।
पत्रकार सम्मेलनमा नेकपा (एस) को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफूहरु पीडित विद्यार्थीहरुको आन्दोलनमा सँगसँगै रहेको बताए । उनले विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै सहज रुपमा पठन पाठन हुनुपर्नेमा जोड दिए ।
नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले ८२ दिनसम्म विद्यार्थीहरुको समस्या समाधान गर्न राज्यले तत्परता नदेखाएको भन्दै सरकार तत्काल गम्भीर हुन जरुरी रहेको बताए ।