२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कलाकारको होली : परिवारसँग मनाउँदै

जनसेवा न्युज संवाददाता

काठमाडौँ । होली अर्थात् रङ्गहरूको पर्व । फागुन पूर्णिमाको दिन मनाइने यो पर्वमा विभिन्न होली विशेष कार्यक्रम समेत राख्ने गरिन्छ । जसमा सेलिब्रेटीदेखि नेतासम्मको सहभागिता रहने गर्दछ । केही वर्ष कोरोनाले होली कार्यक्रम बिथोलेकोले पनि यो धेरैको होली भव्य मनाउने योजना छ । हाम्रा सेलिब्रेटीको होली योजना पनि आ–आफ्नै किसिमका छन् । सेलिब्रेटीका होली योजना उनीहरूकै शब्दमा ।

रवीन्द्र खड्का (अध्यक्ष कलाकार संघ)

कोरोनाको कारण तीन वर्षदेखि राम्रोसँग मनाउन नपाएको होली यो पटक रहर र उत्सुकता छ । हिजो कलाकार संघको कार्यसमिति साथीहरूसँग पनि होली खेलियो । आज ३, ४ ठाउँमा होलीको कार्यक्रमको निम्तो छ । घरका सदस्यसँग होली खेलेर बाहिर निस्कने र होली खेल्ने योजना मेरो छ ।

रजनी केसी (अभिनेत्री)

होली मेरो सानैदेखि मनपर्ने पर्व हो । रंगसँग खेल्दै रमाउन मलाई एकदमै मनपर्छ । हरेक वर्षझैँ यसवर्ष पनि होली साथीभाइ आफन्तसँग खेल्दैछु । वर्षभरिका दुःख सबैसँग रङ्गसँग रङ्ग मिसाउँदै साट्नेछु ।

अञ्जु गौतम (गायिका)
विगतका वर्ष झैँ साथीहरूसँग भेला भएर होली खेल्दैछु । यो पटक होली खेल्न म टाढा जान्न । घरपरिवार र वरपरका छिमेकीसँग खेल्दैछु । रङ्गहरू खेल्न रमाइलो लाग्ने भएकोले होली मेरो मनपर्ने पर्व हो । होली हामीले एकअर्कोसँग मिलेर खेल्नुपर्छ । कसैलाई रङ्ग खेल्न जबरजस्ती गर्नु भने हुँदैन ।

रविन लामिछाने (गायक)

होलीको खासै योजना बनाएको छैन । पछिल्लो समय रङ्गहरूमा धेरै केमिकल मिसावट हुने भएकोले मलाई रङ्गहरूसँग खेल्न त्यति रुचि छैन । त्यसैले म घरबाट बाहिर निस्कन्न । होली खेल्नेहरूलाई पनि अरूलाई जबरजस्ती नगर्न आग्रह गर्दछु ।

लक्ष्मी वर्देवा (अभिनेत्री)

धेरै पहिले होली खेल्थे । पछिल्लो समय होली खेल्न त्यति रुचि लाग्दैन । यो पटक घरमै बस्ने विचार छ । रङ्ग खेलेर मनाउने होली एकअर्कोसँग मिलेर खेल्नुपर्छ । होली खेल्दा झैझगडा नहोस् भनेर सतर्क रहन सबैलाई अनुरोध गरे ।

उत्तम केसी (कलाकार)

अहिले अस्ट्रेलियाबाट नातिनी आएकी छन् । बिहान घरमा उनीसँगै होली खेल्छु । त्यसपछि केही टेलिभिजनले बोलाएका छन् । आफ्नो सिरियलको छाप लगाएको टिसर्ट लगाएर होली कार्यक्रमहरूमा सहभागी हुन्छु ।

दीपाश्री निरौला (अभिनेत्री –निर्देशक)

मेरो मनपर्ने चाड हो होली । काठमाडौँ घरमा होली खेलेर विराटनगर जाने सुरमा छु । विराटनगरमा होली अवार्ड छ । त्यसमा मलाई सम्मान कार्यक्रम छ । विराटनगरका होली कार्यक्रमहरूमा पनि सहभागी हुन्छु । रङ्गले जीवन रङ्गिन भएको महसुस हुने भएकोले आफन्तसँग मिलेर होली खेल्न आग्रह गर्दछु ।

सञ्चिता लुइँटेल (अभिनेत्री)

मेरो मनपर्ने चाँड होली हो । होलीका लागि सपिङ समेत गरेको छु । यो विशेष पनि लाग्छ । रङ्गहरू खेल्दै रमाइलो गर्ने यो दिन घरमा, साथीहरूसँग मनाउने प्लान छ । होलीले खुसी हुने, भेटघाट गर्ने, माया साट्ने र रमाइलो गर्ने अवसर दिलाउँछ ।

रवि डङ्गोल (हास्य कलाकार)

यो पटक कोरोनाको माहौल अलि राम्रो भएकोले परिवारको अलावा साथीभाइसँग पनि होली खेल्ने सोचमा छु । केही टेलिभिजनले होली कार्यक्रमका लागि निम्त्याएका छन् । त्यहाँ पनि जान्छु । होली अराजकताले भन्दा पनि सभ्य भएर खेल्न अनुरोध गर्दछु ।

साक्षी लम्साल (अभिनेत्री)

होली नर्मल तरिकाले मनाउने सोच छ । चाड पर्वमा म खासै बाहिर निस्किन्न । यो पटकको होली घर परिवारसँगै रङ्ग खेलेर मनाउँछु । लोला, रङ्ग र पिचकारी समेत मलाई मनपर्छ । होली नचिनेकोसँग भन्दा चिनेकोसँग खेल्दा राम्रो हुन्छ ।

अनु शाह (अभिनेत्री)

साथीहरू जमघट गरेर कुनै रेस्टुरेन्टमा गएर होली खेल्दै रमाइलो गर्ने योजना छ । मेरो बिचारमा होली आफ्नो फ्यामिली, साथीभाइ र आफन्तसँग खेल्दा राम्रो हो । मदिरा सेवन गरेर होली नखेल्न अनुरोध गर्दछु ।

खुस्बु खड्का (अभिनेत्री)

होली मलाई मनपर्छ । नजिकका आफन्त साथीभाइसँग मनाउँछु । केही वर्षदेखि कोरोनाले गर्दा रमाइलो गर्न पाएको छैन । यो पटक खेल्छु । पहिलेदेखि लोला हानेको भन्दा पनि होलीकै दिन रङ्गसँग खेलेको मनपर्छ मलाई ।

शुलेमान शंकर ‘इकु’ (कलाकार)

मेरो आश्रममा १४ जना छोराछोरी छन् । तिनीहरूसँग होली खेलेर रमाइलो गर्ने सोच छ । रङ्ग खेल्न भने मनपर्दैन । साथीभाइसँग भेटघाट गरेर रमाइलो गर्ने योजना पनि छ । यो राम्रो पर्व हो । यो पर्व जथाभाबी तरिकाले भन्दा पनि सभ्य भएर मनाउन अनुरोध गर्दछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com