२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै हो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले भने, “एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।”

अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संरचना निर्माणको काम, लोककल्याणकरी कार्यको लागि देशको अन्य राजनीतिक दलहरूभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उहाँले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको आरोप लगाए ।

आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण सरकार ढाल्ने काम गरेर विकास गर्न नदिएको अध्यक्ष ओलीले गुनासो गरे । उनले आगामी निर्वाचनमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने बताए ।

अध्यक्ष ओलीले भने, “अहिले पनि एमाले देशको सबैभन्दा ठूलो प्रतिपक्ष पार्टी हो, आगामी वैशाख ३० को स्थानीय निर्वाचन सम्पन्न भएपछि पनि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्ने छ ।” उनले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा सङ्गठित हुन आह्वान गरे । एमालेले आगामी निर्वाचनबाट बहुमतको सरकार गठन गरेपछि लोककल्याणकारी कार्य र देश विकासको कार्यलाई झनै तीव्रता दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले देशको हित हुने तथा कसैसँग नझुक्ने नीतिसमेत लिने उल्लेख गरे ।

एमाले उदयपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुअघि एमाले अध्यक्ष ओलीले उदयपुरको सदरमुकाम गाइघाटस्थित बोक्से बासबारीमा निर्माण गरिएको नयाँ मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गरेका थिए । आँखा अस्पताल उद्घाटनसँगै आँखाको अप्रेशन गरेका बिरामीसँग अध्यक्ष ओलीले परामर्शका साथै अस्पताल भवनको निरीक्षणसमेत गरेका थिए । (रासस)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com