२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

एमालेलाई पराजित गराएरै छाड्ने : प्रकाश ज्वाला

वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरु चुनावी मैदानमा होमिई सकेका छन् । कर्णालीमा प्रमुख तीन राजनीति दल (एमाले, माओवादी, काँग्रेस) ले आफू नै पहिलो शक्ति बन्ने दाबी गरिरहँदा एमाले खण्डीकरण भएर बनेको नेकपा (एकीकृत समाजवादी) भने अग्नि परीक्षामा छ । यो दल आफू पहिलो शक्ति बन्ने दावी गर्न नसकेपछि एमालेलाई पराजित गराउने रणनीतिमा छ ।

सत्ता गठबन्धन कायम रहेको खण्डमा भने यो नेकपा (एस) पनि निर्णायक भूमिका रहने छ । एकीकृत समाजवादीका उप–महासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला पनि चुनौतीका बावजुद एमालेलाई पराजित गराएरै छाड्ने दावा गर्छन् । उनी कर्णालीमा वर्तमान सत्ता गठबन्धन कायमै रहेमा एमालेले वडामा पनि जित्न मुस्किल हुने बताउँछन् । प्रस्तुत छ, लामो समय कर्णालीका पूर्व मन्त्रीसमेत रहेका उनै ज्वालासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

कर्णालीमा एकीकृत समाजवादीको अवस्था कस्तो छ ?

स्थानीय तहको निर्वाचनको तयारी तीव्र रुपमा अगाडि बढाएका छौं । चुनावको तयारीमा हाम्रो पार्टी केन्द्रदेखि नै लागिरहेको छ । पार्टी केन्द्रीय कमिटीको बैठकले निर्वाचनसम्बन्धि महत्वपूर्ण बैठक गर्यो । ‘जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ’ भन्ने नारासहित १५ दिने अभियान नै चलाइरहेका छौं । सँगै गएको चैत ६ गते कर्णाली प्रदेश कमिटीको बैठक बसेर जनपरिचालन र निर्वाचन तयारीका कार्यक्रम तय भएका छन् । जिल्ला तहमा बैठक राखेर ती कार्यक्रमलाई स्थानीय स्तरमा लैजाने गरी अघि सारिएको छ । यसरी हेर्दा कर्णालीमा मात्र नभई देशैभरी हाम्रो पार्टीको माहोल बनिरहेको छ । कर्णालीमा राम्रो वातावरण छ । यो बीचमा हामी जनताको बीचमा जाँदा उत्साहित छौं ।

कर्णालीमा एकीकृत समाजवादीप्रति जनताको बुझाई कस्तो छ । फिडव्याक कस्तो पाउनुभयो ?

वास्तवमा जनता कम्युनिष्टहरु मिलुन्, एकताबद्ध भएको हेर्न चाहन्छन् । विगतमा दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएका थिए, त्यतिबेला जनता उत्साहित थिए । चुनावी एकता गर्दा बहुमत पनि आयो । त्यो कुरामा राम्रो रेस्पोन्स थियो । जसरी जनताले बहुमत दिएर केपी ओली सत्तामा पुगे, त्यसरी घोषणापत्र अनुसार काम गरिदिएको भए जनताको विश्वास अझ बढ्ने थियो । तर शिखरमा पुगेका ओलीले जनताको पक्षमा काम गर्न छाडेर कम्युनिष्ट पार्टीलाई विभाजन गर्ने, विच्छेद गर्ने, कम्युनिष्ट आन्दोलनलाई क्षति पुर्याउने, धोका दिने जुन काम गरे, त्यसले जनतामा निराशा छाएको छ ।

र, हामीले जसरी कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्ने, पार्टीलाई पुनर्गठन गरेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने अभियान थालेका छौं, यो अभियानप्रति जनताको समर्थन छ । केपी ओली प्रवृत्तिका विरुद्धमा विद्रोह गर्ने र त्यसका विरुद्धमा उत्रिनुपर्छ भन्ने खालको जनताको बुझाई छ ।

अहिले एमालेसँग खण्डित भएर तपाईंहरु नयाँ संरचनामा हुनुहुन्छ । यसरी खण्डित भएको जनाधारलाई लिएर तपाईंहरु कसरी चुनावी मैदानमा जाँदै हुनुहुन्छ रु के छ रणनीति ?

हिजो दुई ठुला कम्युनिष्ट पार्टी मिल्दा जनमत राम्रो थियो । जनताले सत्तामा पनि पुगाए । जसरी ओलीले राष्ट्रलाई धोका दिने प्रयत्न गरे, त्यसले उनलाई त क्षति पुग्यो नै, हामीलाई पनि एउटा चुनौती थपिएको छ । त्यसलाई हामीले मेकअप गर्ने गरी जनता, कार्यकर्ताको बीचमा गएका छौं । संगठन निर्माणमा हामी सक्रिय छौं । फेरि पनि जनतालाई छुने खालका एजेण्डाका साथ जनताको बीचमा जान्छौं ।

हामी जनतालाई सेवा, सुविधा कसरी उपलब्ध गराउने, सुरक्षा कसरी दिन सकिन्छ, भ्रष्ट्राचार कसरी उन्मुलन गर्न सकिन्छ भन्ने अभियान चलाउने लगायतका कुरामा जोड दिन्छौं । त्यो भएपछि हामी जनताको साथ पाउँछौं भन्ने कुरामा ढुक्क छौं । अर्को कुरा हामी गठबन्धन भित्रका जुन राजनीतिक दलहरु छौं, यी दलहरुको बीचमा चुनावी तालमेल पनि हुन्छ नै । त्यसकारण ओलीले जसरी पार्टीलाई क्षति पुर्याए, जनवादलाई खण्डित गर्ने काम गरे, त्यसलाई मेकअप गर्न सक्छौं । यो म दावाका साथ भन्छु ।

चुनावसम्म सत्तामा रहेका दलहरुको गठबन्धन कायम हुन्छ कि हुँदैन भन्ने सवालमा दुविधा छ । के चुनावसम्म गठबन्धन कायम होला त ?

चुनावमा त आ–आफ्नै घोषणापत्र लिएर जाने हो, कसैको बीचमा दुविधा छ जस्तो मलाई लाग्दैन । चुनावी तालमेल गर्नु भनेको त आवश्यकताले गर्ने हो । यसअघि राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका दलहरु बीचमा सहमति भयो, त्यहीअनुसार चुनाव जित्यौं पनि । अहिले पनि हाम्रो बीचमा तालमेल हुनुपर्छ भन्ने आशयका साथ नै सत्तामा रहेका नेताहरुले कुरा अघि बढाएकै छन् । काँग्रेस र माओवादीले पनि त्यही कुरा भनिरहेका छन् । त्यसैले गठबन्धनका दलहरुबीच चुनावी तालमेल हुन सक्ने आधार छ । त्यो खालको वातावरण बन्छ ।

कर्णालीमा एकीकृत समाजवादीको प्रतिस्पर्धी को हो रु गठबन्धन बनेपनि, नबनेपनि यामलाल कँडेलहरुविरुद्ध ज्वालाहरुले पराजित गर्ने रणनीति बुनिरहेका छन् भन्ने सुनिन्छ नि ?

तीन दल मिल्दाखेरी त कर्णालीमा एमालेको नाम निशाना नै रहँदैन । त्यो कुरा प्रष्ट नै छ । त्यो अवस्थामा यामलालहरुको नराम्रोसँग हार हुन्छ । अर्को कुरा तालमेल पनि कण्डिशनल हुने स्थिति बन्न सक्छ, त्यसको मोडालिटी बन्छ । मिल्न सक्ने ठाउँमा मिलेर जाने, नसक्ने ठाउँमा आफ्नै बलमुताविकले जाने पनि हुन सक्छ । त्यसो हुँदा गठबन्धनभित्रकै दलहरुले जित्न सक्ने स्थिति बन्छ । कर्णालीमा हाम्रो पोजिशन भनेको यामलाल र केन्द्रको ओली प्रवृत्तिलाई पराजित गर्नु नै हो । त्यही पोजिशनमा मैदानमा उत्रिने हो ।

०७४ मा एमाले ३८, माओवादीले ३१ र काँग्रेसले झण्डै २७ प्रतिशत मत प्राप्त गरेका थिए कर्णालीमा । अहिले तपाईंहरु चौथो शक्तिको रुपमा हुनुहुन्छ । एक्ला एक्लै लड्दा कति जित्न सकिन्छ भन्ने रिपोर्टिङ छ तपाईंहरुको ?

हिजो एमाले जसरी पहिलो शक्ति बनेको थियो । अहिले त्यो स्थिति न एमालेको हुन्छ, न हाम्रो नै हुन्छ । अहिले एमाले एक्लो छ, कोही साथी छैन । कुनैबेला अत्यन्तै ठुलो शक्ति भएको एमाले भन्दा अहिले कर्णालीमा हामी बलियो छौं । त्यस्तो अवस्थामा उसले जित्ने सम्भावना रहँदैन । हामी एक्लै पनि हाम्रो शक्तिमा भर परेर चुनावमा प्रतिस्पर्धा गरेर राम्रै पोजिशन बनाउन सक्छौं भन्ने विश्वास छ । निर्वाचनमा कर्णालीका हकमा हाम्रो पोजिशन भनेको सम्मानजनक बन्न सक्छ भन्ने कुरामा ढुक्क छौं ।

एमालेको केन्द्रीय कमिटीको बैठकमा एमाले कर्णालीले वर्तमान सत्ता गठबन्धन एकातिर र एमाले एक्लै लडे १५ पालिका र एक्ला एक्लै लडे २९ पालिका जित्ने रिपोर्टिङ गरेको छ । तपाईंहरु गठबन्धन बनेर नै चुनावमा गएको खण्डमा के यो सम्भावना छ ?

यो त एमालेको काल्पनिक, मुख मिठ्याउने र मान्छेलाई भ्रम दिने कुरा हो । सामान्यतयाः एउटै पार्टी हुँदाखेरी हुँदा विभाजित हुने, त्यसमा पनि कमजोर रहेको अवस्थामा त्यो भन्दा बढी बढाउँछौँ भन्ने कुरा त पत्याउनै सकिँदैन नि ।! यसको कुनै अर्थ नै छैन । तीनवटा मेजर पार्टी एकताबद्ध भएर चुनावमा गए त एउटा वडा सदस्य पनि जित्न गाह्रो छ नि एमालेलाई ।

अहिलेको स्थिति हेर्दा काँग्रेसले गठबन्धन बनाएर चुनावमा जान नचाहेको खण्डमा कर्णालीमा माओवादी र एसको गठबन्धन बन्ने सम्भावना छ कि छैन ?

त्यस्तो त मलाई लाग्दैन, जुन आधारमा गठबन्धन बन्यो त्यो भन्दा बाहिर हुन सक्दैन । बरु समस्या भएमा समझदारीका आधारमा छलफल गरेर समाधान गरी जान्छौं । चुनावमा फेरी काँग्रेस फरक माओवादी फरक, यस्तो खालको कल्पना गरिरहन परेन । अहिलेसम्म जुन खालको गठबन्धन छ, त्यही हुनुपर्छ भन्ने हो । बरु मोडालिटी र आधारहरू कस्तो बन्छ भन्ने मुल कुरा हो ।

अन्तिममा, कर्णालीको हकमा तपाईंहरुको पार्टीका एजेण्डा के के छन् ?

मूलतः केन्द्रीय कमिटीबाट नै तय गरेका एजेण्डा भए । कर्णालीका हकमा हामी विशिष्ट रुपमा कर्णालीका समस्या, मुद्दाहरूलाई प्राथमिकतामा राखेर एजेण्डा बनाउँछौं । ‘स्वास्थ्य, शिक्षा, रोजगार त्यसका लागि पूर्वाधार’ यी कुरालाई लिएर चुनावी मैदानमा जान्छौं । (साभार रातोपाटी)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com