२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा केही भावुक देखिएका प्रधानमन्त्री देउवाले सम्बोधनको अन्तिमतिर आफ्नो लिखित मन्तव्य बाहिर गएर बोल्न थाले । ‘मैंले प्रधानमन्त्रीबाट सुने कि काशी, जसको नेपालसँग ऐतिहासिक सम्बन्ध छ । नेपालीहरू आफ्नो जीवनकालमा काशी दर्शन गर्न चाहान्छन् । काशीमा प्राण त्याग्न चाहान्छन् । अहिले काशीलाई भव्य बनाइएको छ । गंगा नदी सफाइको प्रधानमन्त्री मोदीको अभियानबारे म जानकार छु ।’

यति भनेर देउवाले मोदीलाई धन्यवाद दिए र उनले मोदीलाई पुनः नेपाल भ्रमणमा आउन निमन्त्रणा दिदैं उनको स्वागतका लागि नेपाल तयार रहेको बताए । त्यसो त मोदी अघिल्लो कार्यकालमा हरेक वर्षजसो नेपाल आएका थिए । मोदीले पनि आफ्नो सम्बोधनको सुरुवातमै देउवा भारतको पुरानो मित्र भएको र प्रधानमन्त्रीका रूपमा उनको यो पाँचौ भ्रमण भएको बताएका थिए ।

देउवाले सम्बोधनका क्रममा मोदीको २०७१ को भ्रमण र त्यसपछिका भ्रमणहरू नेपालसँगको मित्रता र सहयोगलाई प्रगाढ बनाउन कोशेढुंगा भएको बताए ।

मोदीको नेपाल र नेपालीप्रतिको माया र सद्भावको प्रशंशा गर्दै देउवाले आफ्नो भारत भ्रमण भारतप्रति नेपालको सोही भावनाबाट निर्देशित भएको उनको भनाई थियो । भारतमा आजादीका अमृत महोत्सव अवलोकन गर्न पाएको र दुई देशबीचको ७५ वर्षको द्विपयक्षीय सम्बन्धमा मित्रता र सहयोगले उचाई लिएको देउवाको भनाई थियो ।

देउवाले मोदीको दूरदर्शी नेतृत्वमा भारतको विकास र प्रगति देख्न पाएको भन्दै उनको प्रशंशा गरे ।

कोभिड–१९ विरुद्धको पहिलो खोप भारतबाट पाएको भन्दै देउवाले आज द्विपक्षीय प्रतिनिधिमण्डलले दुई देशबीच बहुआयमिक सम्बन्धका सम्बन्धमा छलफल गर्ने बताए ।

‘नेपाल र भारतबीच सम्बन्ध विस्तार र प्रगाढ भएको छ । दुई देशबीच जनस्तरमा महत्वपूर्ण सम्बन्ध विकास भएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘भारतको विकासबाट परस्परमा आर्थिक लाभ लिन चाहेका छौं ।’

देउवाले जयनगर–कुर्ता रेल भारतको महत्वपूर्ण सहयोग भएको चर्चा गर्दै सोलु करिडोर प्रसारणलाइन, पुननिर्माणमा भारतीय सहयोगको प्रशंशा गरे ।

उनले चाँदनी दोधारामा बन्दरगाह निर्माणमा भारतीय सहयोगका लागि याचना पनि गरे । नेपालगन्जको एकीकृत जाँचचौकी र भैरहवामा छिटो जाँचचौकी निर्माण गरिदिन उनले आग्रह गरे । नेपाल भारतबीच रेलमार्गले जोड्ने सम्बन्धमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको उनले बताए । उनले सीमा नजिक भैरहवा विमानस्थलमा विमान सञ्चालनका लागि सहमतिका सम्बन्धमा पनि कुराकानी गरेको उल्लेख गरेका छन् ।

देउवाले महाकालीमा मोटर चल्ने पुल निर्माणका लागि केही महिनाअघि समझदारी भएको र रसायनिक मल खरिद गर्न दुई सरकारबीच सरकारी तहमा भएको समझदारीको प्रशंशा पनि गरे ।

नेपालमा जलविद्युत् उत्पादनको उच्च सम्भावना रहेकोमा अन्तरदेशीय विद्युत् पूर्वाधार र विद्युत व्यापारलाई संस्थागत गर्ने सम्बन्धमा छलफल गरेका देउवा नेपालबाट विद्युत् खरिद गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रतिवद्धतासँगै खुसी देखिएका छन् । सम्बोधनका क्रममा देउवाले पारवहन सन्धिमा पुनरवलोकनसँगै निजी क्षेत्रको रेल सञ्जालन र जलमार्ग सञ्चालनको बाटो खोल्ने उल्लेख गरे ।

‘नेपालको जलस्रोतको बृहत्तर उपयोगबारे कुराकानी भएको छ । डुबान, बाढी नियन्त्रण र उर्जा उत्पादनमा जलस्रोतको उपयोग गर्ने सहमति भएको छ,’ देउवाले भने, ‘पञ्चेशवरका डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) छिटो टुंग्याएर यस बहुउद्देश्यीय आयोजनाको लाभ दुवै देशलाई प्राप्त हुनेछ ।’ त्यसो त देउवा प्रधानमन्त्री भएर पहिलोपटक भारत भ्रमणमा जाँदा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना भारतले निर्माण गर्ने सहमति भएको थियो ।

देउवाले जीपी कोइराला नेशनल फाउन्डेसन अफ हेल्थ साइन्सेसको स्तरोन्नति, पुनर्निर्माणको सहयोग र सो अन्तर्गत आवास, विद्यालय र स्वास्थ्यचौकी भारतको सहयोगमा निर्माणमा भारतको सहयोगका लागि धन्यवाद दिए । उनले जोगबनी विराटनगर रेल चाँडै हस्तान्तरण हुने पनि बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com