२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

जेष्ठ लाग्दा सम्म नतात्तिने काठमाण्डौं यसपालि त चुनावले गर्दा होला बैषाखमै तातिएको छ : राधा पोखरेल

-राधा पोखरेल

किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बन्ने कि ?

जेष्ठ लाग्दा सम्म नतात्तिने काठमाण्डौं यसपालि त चुनावले गर्दा होला बैषाखमै तातिएको छ । देश त साँच्चै चुनावमय भएको छ । देश पुरै तात्दै छ चुनावी माहौलले

स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता भएको थियो । मनोनयनको संख्या १ लाख ३७ हजारभन्दा बढी पुग्यो, विवरण थपिने क्रम जारी रहेको छ ।
७४ को चुनावमा बाम गठबन्धनमा भोट मात्र हालिएन, भोटै माँगेर हिँडियो । प्रचार प्रसारमा हिँड्दा कति छाक भोकभोकै बसेको पनि बिर्सिन नपाउँदै चुनाबले फेरि पनि छपक्कै छोपिसकेको छ ।

यसपालि त कुनै पनि पार्टीको प्रचारमा हिँड्दिन । दल र नेताहरूको ताल देखेर भित्रैदेखि फ्रस्टेसन सुरू भएको छ । देश कुनै वादको संकीर्ण सोंच राख्ने दल र नेताहरूबाट होइन, फराकिलो सोंच बोकेका, सही भिजन अनि देश र जनताप्रति समर्पित सहासी नेताहरूले बनाउने रहेछ । म त आजकल त्यस्तै नेताहरूको खोजीमा छु । अहिलेको चुनावमा दलहरू, नेताहरूले मात्रै नभएर हामी मतदाताहरूले पनि सिक्न पर्ने शिक्षा र सच्याउनुपर्ने धेरै कुराहरू छन् ।

दलहरूको चुनावी घोषणा-पत्र पढ्दा अहिले पनि सपनाको पुलिन्दा जस्तो लाग्छ । सबै पालिकामा पक्की सड़क, घरघरमा स्वच्छ पानी, सुलभ स्वास्थ्य सेवा, व्यापक सामाजिक सुधार, गरिबी, बेरोजगारी छु मन्तर गर्ने रे ! भ्रष्टाचार रोक्ने, सुशासन र सदाचार कायम गर्ने वाचा गरेका छन् आ-आफ्नो घोषणा-पत्रमा । तर, चुनावमा पैसाको खोला बगाउन सुरू गरिसकेका छन् नेताहरूले । अहिले चुनावमा खर्च भएको पैसा भोलि भ्रष्टाचार नगरी कसरी असुल उपर हुन्छ ? के जनताको नाममा मिनाहा गरिदेलान् त नेताहरूले ? असंभव । त्यसैले नेतागण यो भ्रष्टाचार गर्न वाध्य पार्ने निर्वाचन प्रणाली परिबर्तन गर्नुस् । अनि मात्रै पत्याउँला सुशासन र सदाचारका कुरा ।

लोकतन्त्रको सर्वाधिक सुन्दर पक्ष भनेकै निर्वाचन हो । निर्वाचनको अर्थ वास्तवमा जनता आफ्नो मालिक आफैँ बन्नु हो । तर बिडम्बना, हामीले जुन लोकतन्त्र र निर्वाचन प्रणालीको प्रयोग गरिरहेका छौं, यसले जनतालाई मालिक होइनस दास नै बनाइरहेको छ ।
निर्वाचन जनताका लागि उत्सव हुनुपर्ने हो । तर, शासकहरूको स्वार्थ, नेता(कार्यकर्ताको अदुरदर्शिता र मतदाताहरूको अचेतनताको कारण यो निर्वाचन देश र जनताका लागि अभिशाप बन्दैछ । मतदाताहरूलाई डर, धाकधम्की र बिभिन्न प्रलोभनमा पारी मत प्राप्त गर्ने उही पुरानो खेलको पुनरावृत्ति हुने देखिन्छ । हामीले अझै पनि यिनैलाई जिताएर भ्रष्टाचार दुगुना पार्ने ? अझै पनि यिनलाई जिताएर दण्डहीनता तीनगुणा पार्ने ? अझै यिनीहरुलाई जिताएर राज्यकोषको दोहन चौगुणा पार्ने ?
हरेक चुनावमा निर्वाचन आयोगले खर्चको एउटा सीमारेखा त तोकिदिएको छ । तर, त्यो सीमा रेखाभित्र अपवादमा बाहेक कुनै पार्टीको कोही उम्मेदवार बस्ने देखिँदैन।

हामी मतदाताहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने, हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ? अहिले चुनावमा करोडौं रूपैयाँ खर्च गर्नेले भोलि त्यसको साँवा र ब्याज नअसुली छोड्छ ? पक्कै असुल्छ । त्यो हामी जनताको नाममा आएको बजेटबाटै अयो देशलाई बिगार्ने राजनीतिक ठेकेदारहरूको हामी मतदाता पनि मतियार हुनेछौं । देश बनाउने हतियार हाम्रो हातमा छ, हतियार सही निसानामा भेदन गरौंस कोही कसैको मतियार नबनौं । तपाईं हाम्रो एक मतले देश सुखी र समृद्ध बन्न सक्छ । भोलि किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com