१ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित ७ जना अफ्रिकी महिला पक्राउ

१ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित ७ जना अफ्रिकी महिला पक्राउ
काठमाण्डौ – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात जना महिलालाई पक्राउ गरेको छ । आज बिहीवार पत्रकार सम्मेलन गर्दै गएको जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको हो ।
पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्युरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ुट्रान्जिटु बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरूलाई पक्राउ गरेको बताउनुभयो । उहाँले विगतमा पनि लागुऔषध कारोबारीहरू पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको बताउनुभयो ।
उहाँका अनुसार बरामद गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्यअनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउँछ । प्रमुख श्रेष्ठले पक्राउ परेका सातै जना दक्षिण अफ्रिकाका महिला नागरिक रहेको बताउनुभयो । उहाँका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रमुख श्रेष्ठले प्रहरीले यो समूहलाई नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिनभित्रमा सफल भएको बताउनुभयो ।
पक्राउ परेकाहरू मध्ये दुई जना नेपाल आउजाउ गरिरहने गरेका र पाँच जना पहिलो पटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो ।