नदीको तटीय क्षेत्रमा नजान रौतहट प्रशासनको आग्रह
नदीको तटीय क्षेत्रमा नजान रौतहट प्रशासनको आग्रह
जनसेवा न्युज डटकम संवाददाता
जिल्ला प्रशासन कार्यालय रौतहटले नदीको तटीय क्षेत्रमा नजान र नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ । अविरल वर्षापछि रौतहटको प्रमुख नदीहरु बागमती, लालबकैया, झाझ, चाँदी लगायतमा बाढीको उच्च जोखिम बढेको कारण तटीय क्षेत्रमा नजान स्थानीय प्रशासनले आग्रह गरेको हो ।
मनसुन सक्रिय भई चुरे तथा पहाडी क्षेत्रमा अविरल वर्षाबाट वागमती, लालबकैया सहितको नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढेसँगै तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै स्थानीय प्रशासनले नदी तथा खोला किनारमा नजान सूचना जारी गरेको हो ।
बाढी र डुबानबाट हुने सम्भावित खतरालाई मध्यनजर राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको हाईअलर्ट अनुसार बुधबार दिउँसो ३ बजे बागमतीको राई गाउँ, कर्मैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको हुँदा नदीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ ।
बुधबार वागमती सिंचाई आयोजना कर्मैया ब्यारेजको ३६ वटै ढोका खोलिएकाले तल्लो क्षेत्रमा बाढीको प्रवल सम्भावना रहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।