मकालु हिमाल आरोहणमा लाक्पा शेर्पाको नयाँ कीर्तिमान
मकालु हिमाल आरोहणमा लाक्पा शेर्पाको नयाँ कीर्तिमान
जनसेवा न्युज डटकम संवाददाता
हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीनपटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । शेर्पाले संखुवासभाको मकालु गाउँपालिकामा पर्ने ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु हिमाल सन् २०२२ को मे १२, २० र २८ तारिकमा सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका हुन् । शेर्पाले सोहि समयमा चौथो पटकको आरोहण भने खराब मौसमका कारण पुरा गर्न नसकी फर्किएको बताए ।
‘चौथो पटकको आरोहण पुरा गर्न सफल बनाउन ३० मिटर बाँकी छँदा मौसमले साथ दिएन र म फर्किन बाध्य भएँ ।’ हिमाल आरोही शेर्पाले भने, ‘यो विश्व कीर्तिमान हो र गिनिजबुकमा नाम रहन्छ भन्ने सोचेको छु ।’ शेर्पाले रेकर्डकै लागि मात्र नभएर आफ्नो गाउँ र ठाउँ चिनाउने उद्देश्यका साथ हिमाल आरोहण गरेको बताए।
मकालुबासीकै ट्रेकिङ कम्पनी ‘सेभेन समिट ट्रेक्ज् प्रालिको सहयोगमा १६ दिनमा तीनपटक मकालु हिमाल आरोहण गर्न सहज भएको र सामान्यतया एकपटक त्यो हिमाल आरोहण गर्न एक महिनाभन्दा बढी समय लाग्ने आरोही शेर्पाले बताए । हिमाल अरोहणबाट लगातार ख्याति कमाउँदै आएका ३० वर्षीय युवा आरोही शेर्पाले एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन् ।
शेर्पाले हालसम्म ८ हजार माथिका हिमाल १४ पटक आरोहण गरिसकेका छन् ।
यसअघि उनले मकालु हिमाल २ पटक, सगरमाथा १ पटक, मनास्लु हिमाल २ पटक, ल्होत्से हिमाल १ पटक आरोहण गरिसकेका छन्। सेभेन समिट ट्रेकिंगका फिल्ड मेनेजर समेत रहेका शेर्पाले विश्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक सफल आरोहण गरिसकेका छन्।