२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

समानुपातिक सांसद पद बेचेका छैनौँ : अध्यक्ष लिङ्देन

समानुपातिक सांसद पद बेचेका छैनौँ : अध्यक्ष लिङ्देन

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरूले चयन नगरेको जिकिर समेत गरे ।

तिहारसहितको चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष लिङ्देनले भने, ‘साथीहरू कसको नाम समानुपातिकमा पर्‍यो, परेन ? कसको नाम लेखियो, लेखिएन ? यतातिर अल्झेको देख्छु । अनुहार अँध्यारो लगाएको देख्छु । हिजोअस्तीको कुरा सम्झनुस् । अघिल्लो मङ्सिर १०/११ महिनाको अघि सम्झनुहोस् । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जित्ने कुरा होइन राष्ट्रिय प्रजातन्त्र पार्टीका मान्छे मर्दा मलामी नपाउने अवस्था थियो । पार्टीको झन्डा ओढाउने मान्छे नपाइएला जस्तो थियो । तपाईंले सांसदको कल्पना गर्नु भएको थियो ? देशको पहिलो पार्टी हुन्छ भनेर कल्पना गर्नु भएको थियो ? आज एउटा नयाँ परिस्थिति बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले नै देशमा निर्णायक शक्तिको रूपमा देखा परिसक्यो । मैले अघि भनेजस्तो अव राष्ट्रिय प्रजातन्त्र पार्टीको गति यसरी अघि बढी सक्यो कि अव रोक्छु भनेर कसैले कल्पना गर्न सक्दैन । यो गतिलाई कसैले रोक्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना कार्यकर्ताहरू हौँ भन्ने त झन् गौरवका साथ अघि बढ्नु पर्दछ ।’

उनले थपे, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा त्यस्तो पार्टी हो, जसले समानुपातिक पद कसैलाई बेचेको छैन । कसैलाई नातागोता भनेर राखेको छैन । नातागोताको आधारमा राखेको छैन । सबै प्रोफाइल पल्टाएर हेरे हुन्छ । कोही कसैको नातेदार भएको कारणले त्यहाँ परेको छैन । कोही कसैको नजिक र टाढाको आधारमा परेको छैन । हामीले ८२ वर्षको पशुपतिशमेशर राणादेखि लिएर ३० वर्षका बिना लामा, कुमारी स्याङतानजस्ता सबैलाई सन्तुलन मिलाएर राखेका छौँ । जसले आफ्नो ठाउँमा चुनावमा भोट ल्यायो, जसले पार्टीलाई राम्रो योगदान गर्‍यो । जसले भविष्यमा गर्न सक्छ । यो चोटि चुनाव जितेपछि फेरी अर्को चोटि प्रत्यक्षमा उठ्न सक्छ । त्यो सबै चिजलाई हेरेर, सन्तुलन मिलाएर हामीले राखेका छौँ । त्यो क्रममा त्यत्तिकैको अर्को साथ पर्न सकेन होला । एउटा मात्रै राख्न पाइने ठाउँमा अर्को परेन होला । उसको पनि पालो आइहाल्छ ।’

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले आगामी निर्वाचनपछि आफ्नो पार्टीले ठूला दलहरुलाई मुलुकलाई दुर्भाग्यतिर लैजान नदिने बताए । त्यसका लागि राप्रपाका नेताहरुले एकतावद्ध भएर निर्वाचनमा विजयी हुने गरी प्रचार अभियानलाई तीव्रता दिन उनको आग्रह थियो ।

काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका शीर्ष नेताहरूलाई सच्याउन पनि काँग्रेस र एमालेका कार्यकर्ताले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने जिकिर गरे। मिश्रले भने, ‘काँग्रेस र एमालेमा आस्था राख्ने साथीहरूलाई आग्रह गर्न चाहन्छु– राप्रपा अव मुलुकको विकल्प हो । पार्टीमा आस्था राखेर तपाईंहरुको पार्टीमा भोट हाल्दा हाल्दा तपाईंहरुका छोराछोरी यो देशमै नबस्ने भए । तपाईंहरुको जीवन परिवर्तन नै नहुने भयो । तपाईंहरुले कहिल्यै सस्तो पैसामा उपचार नै गर्न नपाउने हुनु भयो । तपाईंका छोराछोरी र नातीनातिनीलाई राम्रो स्कुलमा पठाउने स्थिति नै नहुने भयो । तपाईंहरुको घरमा पार्क नै नहुने अवस्था आयो । केही पनि नहुने स्थिति आयो । अव फेरी त्यहीँ पार्टीमा भोट हाल्नु भयो भने त्यो पार्टीको एउटा तप्काले जुन कब्जा गरेर बसेको छ तपाईंहरुको पार्टी । र, तलको जुन केही गरौँ भनेर आएको तप्का छ । त्यो तप्का माथि आउनै सक्दैन । त्यसो हुनाले तपाईंहरुको तत्तत पार्टी सुधार्न पनि र एउटा ऊर्जावान् नयाँ नेतृत्व तपाईंहरूको पार्टीमा ल्याउनका लागि पनि यो पटक तपाईंहरुले हलोमा मत दिनुस् । झट्का लाग्छ लाग्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com