२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

फेसबुकमा डलर तिरेर भोट माग्दै उम्मेदवारहरू, आयोग भन्छ -खर्चमा जोड्छौं

फेसबुकमा डलर तिरेर भोट माग्दै उम्मेदवारहरू, आयोग भन्छ -खर्चमा जोड्छौं
जनसेवा न्युज डटकम संवाददाता

नेपालका लागि नेपाली पार्टीका सुरेश बस्नेत मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भोजपुरबाट उम्मेदवार छन्। उनको पार्टीले शंख चुनाव चिन्ह पाएको छ। सायदै राष्ट्रिय मिडियामा कभरेज पाएका सुरेशले फेसबुकमा भने जोडतोडका साथ आफ्नो प्रचार गरिरहेका छन्।

फेसबुक एड लाइब्रेरीमा पछिल्लो ३० दिनको तथ्याङ्क (सेप्टेम्बर २८ देखि अक्टोबर २७ सम्म) हेर्ने हो भने सुरेशले मात्र ९ सय १७ अमेरिकी डलर खर्चिएर २४ वटा आफ्नो विज्ञापन राखेका छन्। उनले देशविदेश घुमेका, बुझेका, उद्यमशील ज्ञान र अनुभव भएकाु कारण आफूलाई जिताउन फेसबुकमा विज्ञापन राखेका हुन्।

फेसबुकले पछिल्लो समय विज्ञापन र त्यसमा खर्च भएको विवरण सार्वजनिक गर्ने गरेको छ। सेतोपाटीले यो समाचार तयार पार्दासम्म फेसबुकमा पछिल्लो ३० दिनमा भएको राजनीतिक र सामाजिक विषयको विज्ञापनको तथ्याङ्क हेर्दा २ हजार ४ सय ८० वटा विज्ञापन चलिरहेका छन्। जसमा २३ हजार ४ सय ६४ डलर खर्च भएको छ। जसमा अधिकाशं निर्वाचनसँग सम्बन्धित उम्मेदवारको विज्ञापन रहेको छ। यद्यपी केही युरोपियन युनियन र युनिसेफ जस्ता संस्थाले गरेका विज्ञापन पनि नेपालमा फेसबुकमा आइरहेको छ। जुन निर्वाचनसँग सम्बन्धित छैन।

पछिल्लो समय राजनीतिक दलका नेताहरूले पनि प्रचारका लागि फेसबुकको प्रयोग तीव्र पारेका छन्। नेकपा ९एकीकृत समाजवादी० का सोमप्रसाद पाण्डेले ११ वटा विज्ञापनका लगि ६ सय ३८ डलर खर्च गरिसकेका छन् भने जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले पनि ५ सय ४४ डलर खर्चिएर ५२ पटक विज्ञापन राखेका छन्।

घण्टाघर चुनाव चिन्ह पाएका सुशान्त श्रेष्ठले काठमाडौं क्षेत्र नं ५ लाई केन्द्रित गरेर २३ वटा विज्ञापनमा ५६० डलर खर्च गरेका छन्। क्रस खुकुरी चुनाव चिन्ह पाएका काठमाडौं २ का स्वतन्त्र उम्मेदवार अनुप बोहोराले पनि ४७२ डलर चुनाव प्रचारमा खर्चिएका छन्।

सेतोपाटीले अक्टोबर ३० मा डेटा एक्सेस गर्दासम्म ३२ उम्मेदवारले निर्वाचन प्रचारका लागि मात्र पछिल्लो ३० दिनको अवधिमा सय डलरभन्दा धेरै खर्च गरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत अक्टोबर १३ र अक्टोबर १७ मा दुई पटक विज्ञापन गरिसकेका छन्। उनले आफ्नो दोश्रो कार्यकालमा भएको कामको भिडिओको प्रचार गरेका थिए भने उज्यालोको आरम्भ भन्दै अर्को एउटा भिडिओको पनि फेसबुकमा बुस्ट गरेका छन्।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मादेखि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादीको चुनाव चिन्हबाट निर्वाचन लडेकी मानुसी यमी भट्टराई, नेकपा एमालेका काठमाडौं क्षेन नम्बर १ बाट चुनाव लडेका किरन पौडेलले पनि फेसबुकमा विज्ञापन गरेका छन्।

राजनीतिक दलहरूले निर्वाचनको प्रचार प्रसारलाई फेसबुकमा केन्द्रित गर्न थालेपछि निर्वाचन आयोगले पनि फेसबुकको माउ कम्पनी मेटासँग यसपटक निर्वाचनमा भएको खर्चबारे सूचनाका लागि सहकार्य गरेको छ। आयोगले निर्वाचन खर्चमा फेसबुकमा भएको खर्चको विवरण समेत जोडिने स्पष्ट पारेको छ।

आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ पारित गरेर लागू गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनपछि आयोगले फेसबुकको विज्ञापनमा भएको खर्चको विवरण र फेसबुकमा भएको खर्चको विवरण भिडाएर हेर्ने तयारी गरेको छ। त्यसअनुसार नै आयोगले सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी आयोगले कार्यालय बनाएर काम गरिरहेको जनाएको छ।

आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छु, शर्माले भने, सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाएर परीक्षण गर्छ।

आयोगले उम्मेदवारहरूलाई आफूले सामाजिक सञ्जालमा गर्ने खर्चको विवरणसमेत चुस्त दुरूस्त राख्न विज्ञप्तिमार्फत् आग्रह गरिसकेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com