२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

शंकर भण्डारी : जहाँ हारेका थिए त्यहीँबाट जिते

७ मंसिर, दमौली । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ-१ बाट उठ्न चाहेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तनहुँ–१ बाट चुनाव लड्न चाहेपछि भण्डारीलाई क्षेत्र नं. २ को टिकट दिइयो । खासमा भण्डारीको घर भएको क्षेत्र नं १ हो ।

त्यतिबेला नचाहँदा नचाहँदै क्षेत्र नं. २ मा चुनाव लडेका भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता केदार सिग्देलसँग ३ हजार २७९ मत अन्तरले पराजित भए ।

पूर्व वनमन्त्रीसमेत रहेका भण्डारीले यस पटक पनि तनहुँ क्षेत्र नं. १ नै रोजेका थिए । फेरि पनि सत्ता गठबन्धनबाट जित्ने आश राखेपछि वरिष्ठ नेता पौडेलले क्षेत्र नं १ छोडेनन् । क्षेत्र नं २ बाट टिकटका लागि सिफारिस भएका प्रदीप पौडेललाई काठमाडौं–५ मा पठाएर रामचन्द्रले भण्डारीलाई टिकट दिलाए । यसपटकको लडाइँमा भने भण्डारीले बाजी मारे ।

उनले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ मत अन्तरले हराए । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार ६०४ र गुरुङले २५ हजार १३० मत पाएको तनहुँ क्षेत्र नं. २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य पौडेलले पनि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं क्षेत्र नं. ५ मा हराउन सफल भएका छन् ।

विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल (भानु नगरपालिका–८) मा जन्मिएका भण्डारी दाजु छत्रराज भण्डारीको प्रेरणाबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए । २०३६ र २०४६ को आन्दोलनमा सक्रियरूपमा सहभागी भएका भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहेका थिए ।

भण्डारी वि.सं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल भए । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले । तरुण दलको महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिए पनि उनी पराजित भए ।

पार्टीको १२औं महाधिवेशनदेखि केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाले । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टीको १३ औं र १४औं महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने द्रूतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ’, उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com