२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

Photo Credit : CAN

१६ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ ।

नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।

विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो ।

त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेलमा हार व्यहोरेको थियो । त्यसैले ओडीआईमा नेपाल नामिबियाविरुद्ध पहिलो जितको खोजीमा छ ।

स्कटल्याण्डमा भएको शृंखलामा नेपाल नामिबियासँग पहिलो खेलमा ६३ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

यस्तै शृंखलाको पहिलो खेलमा बिहीबार नामिबिया स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो ।

नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट नेपालको १७ अंक छ र छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।

लिग टुमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालिफाइरमा पुग्ने हो भने नेपालका लागि अहिलेको र बाँकी सबै शृंखला महत्वपूर्ण छ । त्यसैले नेपालले नामिबियामा सकेसम्म धेरै खेल जित्नुपर्नेछ ।

पूर्व कप्तान तथा नेपाली टिमका अनुभवी सदस्य ज्ञानेन्द्र मल्लले कम्तीमा तीन खेल जित्ने लक्ष्य रहेको नामिबियाबाट बताएका छन् ।

नयाँ कप्तान, नयाँ प्रशिक्षक अनि फेरिएको टिम सहित नेपाल यस पटक नामियामा पुगेको छ ।

टिममा ७ खेलाडी परिवर्तन

पछिल्लो पटक जुलाईमा स्कटल्याण्डमा खेलेको नेपाली टिम र अहिलेको टिममा ७ खेलाडी परिवर्तन भएका छन् । त्यसैले नामिबियामा नेपालको प्रदर्शन कस्तो होला भन्ने चासो छ ।

दुई साताअघि कीर्तिपुरमा युएई विरुद्धको शृखंलामा ओडीआईमा डेब्यु गरेका अर्जुन साउद र हरिशंकर शाहसहित नयाँ अनुहारको रुपमा नन्दन यादव टिममा छन् ।

युएई विरुद्धको शृंखला खेल्दै नेपालले नामिबियाको तयारी थालेको थियो । उक्त शृंखला २–१ ले जिते पनि नेपालको ब्याटिङमा समस्या भने उस्तै थियो । नयाँ कप्तान रोहितले नामिबियामा टुरमा सुधार्नुपर्ने महत्वपूर्ण पक्ष नै ब्याटिङ मानेका छन् । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने नहुँदा इनिङ्सको बीचमा नेपालका लागि विकेट लिने बलरको अभाव हुन सक्छ ।

स्कटल्याण्ड टुरमा आसिफ शेख र कुशल भुर्तेलले नेपालको ओपनिङ गरेका थिए । प्रभाकरको आगमनपछि ओपनिङ जोडीमा परिवर्तन भएको छ । आरिसफसँग युवा खेलाडी अर्जुन साउदले ओपनिङ गर्ने पक्का जस्तै छ ।

तेस्रो नम्बरमा अनुभवी ज्ञानेन्द्र मल्लले ब्याटिङ गर्नेछन् । त्यसपछि कप्तान रोहित र दीपेन्द्र सिंह भरी मिडल अर्डरमा हुनेछन् ।

अलराउण्डरमा आरिफ शेख, कुशल भुर्तेल र हरि शंकर शाह छन् र यी मध्ये दुईले पहिलो रोजाइमा खेल्न सक्छन् । प्रशिक्षक प्रभाकरले यसअघि कुशल भुर्तेललाई लेग स्पीन बलिङ गराएका छन् भने अलराउण्डरको रोल दिएका छन् । यदि कुशल र हरि शंकर खेलेमा स्पीनरको रुपमा ललित राजवंशी वा सागर ढकालमध्ये एक जना मात्र खेल्नेछन् ।

यस्तोमा फास्टर बलरहरु सोमपाल कामी, करण केसी र गुल्शन झाले पहिलो रोजाइमा खेल्न सक्छन् । नेपालले दुई फास्ट बलर खेलाएर दुई स्पीनर पनि खेलाउन सक्नेछ ।

पहिलो रोजाइमा कसलाई खेलाउने भन्ने निर्णय त्यहाँको अवस्था र पिचलाई हेरेर गरिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com