२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

यी हुन् सत्ता गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने प्रदेश

यी हुन् सत्ता गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने प्रदेश
जनसेवा न्युज डटकम संवाददाता

आम निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणनासमेत सम्पन्न गरी दलहरुको सिट संख्या निर्धारण गरिसकेको छ । यस आधारमा सात वटा प्रदेशमध्ये चार वटा प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने समीकरण बनेको छ । बाँकी तीन वटा प्रदेशमा भने सत्ता गठबन्धनले बहुमत जुटाउन अन्य दललाई समेत साथ लिनुपर्ने अवस्था देखिन्छ ।

यी हुन् सजिलै सरकार गठन हुने प्रदेश

११० सदस्यीय बागमती प्रदेशमा पनि सत्तारुढ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १२ गरी नेपाली कांग्रेसले ३७ सिट प्राप्त गरेको छ ।

सत्तारुढ गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रले प्रत्यक्षतर्फ १४ र समानुपातिकमा ७ गरी जम्मा २१ सिट प्राप्त गरेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ ५ र समानुपातिकमा २ गरी जम्मा ७ सिट पाएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका यी तीन वटै दलको सांसदसंख्या ६५ हुन्छन्, जो बहुमतका लागि पूर्ण हो ।

६० सदस्यीय गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने देखिन्छ । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सांसदका साथ पहिलो दलका रुपमा स्थापित भएको छ ।

सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ३ गरी जम्मा ८ सांसदसहित प्रतिनिधित्व गर्दैछ । गण्डकी प्रदेशमा प्रस्ट बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्दछ । यो आँकडा कांग्रेस र माओवादी केन्द्र मिलेर सहजै पुग्ने देखिन्छ ।

यस्तै, ४० सदस्यीय कर्णाली प्रदेशसभामा पनि सत्ता गठबन्धनको बहुमत सहजै पुग्ने देखिएको छ । यो प्रदेशमा नेपाली कांग्रेस प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ५ सहित जम्मा १४ सांसदसहित ठुलो दल बनेको छ । यस्तै, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ४ सहित १३ सिट सुरक्षित गरेको छ ।

कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक हुन्छ, जो कांग्रेस र माओवादी केन्द्र मिलेर सहजै प्राप्त हुने देखिन्छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहन्छन् । सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ ।

यो प्रदेशमा प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी जम्मा १९ सांसदसहित नेपाली कांग्रेस ठुलो दलका रुपमा स्थापित भएको छ । यस्तै, सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र ८ प्रत्यक्ष र ३ समानुपातिकगरी ११ सांसदका साथ दोस्रो पोजिसनमा छ । यो प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्र मिलेर सहजै बहुमतको आँकडा पार गर्ने देखिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com