२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएकोबारे के भन्छन् कानुनविद्हरू ?

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएकोबारे के भन्छन् कानुनविद्हरू ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै कांग्रेस सत्तापक्ष वा प्रतिपक्ष भन्नेमा कानून व्यवसायीहरुको राय नै बाझिएको छ ।

वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर संविधानलाई र लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै वरिष्ठ अधिवक्ता भण्डारीले कांग्रेसको कदमले प्रतिपक्षविहीन संसद् र प्रतिपक्षविहीन लोकतन्त्रको परिकल्पना भएको बताएका हुन् ।

‘प्रतिपक्षमा बस्नुपर्ने नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको अवस्था छ । यो अवस्थालाई नेपाली राजनीतिक वृत्त र संवैधानिक वृत्तमा पनि गहिरो चाखका साथ हेरिएको छ । संविधान र डेमोक्रेसीका आधारभूत भ्यालुजहरुलाई हेर्दाखेरी नेपाली कांग्रेसले संविधानलाई र लोकतन्त्रलाई संस्थागत् गर्ने क्रममा एउटा ठूलो गल्ती गर्‍यो,’उनले भने ।

साथै, गठबन्धनको आडमा निर्वाचनमा गएका प्रचण्डले गठबन्धन बाहिर गएर सरकार गठन गर्नुपनि राजनीतिक नैतिकता सकिएको सन्देश दिएको उनले बताए । यस्तो अवस्थामा सत्ता नै केन्द्रविन्दुमा हुने उनले बताए ।

अहिले मुलुकको राजनीति सिद्धान्तविहीन र नैतिकविहीन बनेको पनि उनको दाबी छ । प्रचण्डलाई जनताले प्रधानमन्त्री बन्नका लागि म्याण्डेट नै नदिएको उनको टिप्पणी छ । अहिलेको सत्ताकेन्द्रीत राजनीतिले लोकतन्त्रलाई कमजोर बनाएको उनको दाबी छ ।

उनले कांग्रेस सरकार बनेपछि प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा प्रतिपक्षविहीन संसद् बनाउनु भनेको लोकतन्त्रमाथिको खेलबाड भएको बताए । नेपाली कांग्रेसले जिम्मेवार पार्टीको भूमिका निर्वाह गर्न नसकेको उनले बताए ।

त्यसैगरी, नेकपा (एमाले) का नेता एवं संविधानविद् कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमतिको सरकार बन्दै गर्दा कांग्रेसको पछिल्लो कदमलाई अस्वभाविक भन्न नसकिने बताए । तर, कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा कुनै स्वार्थ भावले आएको भए अग्रगमनतर्फ जान गाह«ो हुने बताए ।

साथै, नेपाली कांग्रेसले विगतमा संसद् प्रतिपक्षविहीन रहन नसक्ने भन्दै सहमतिको राजनीतिलाई तोड्ने काम गरेको पनि उनको आरोप छ । संगै चुनाव लडेको गठबन्धनलाई पनि जोगाउन नसकेको पार्टी सकारात्मक रूपमै देश बनाउने भावका साथ आएको अवस्थामा यसलाई अन्यथा भन्न नसकिने उनको भनाई छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रियसभा सदस्य एवम् कानुनविद् जगत पार्कीले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफ्नो गल्ती तथा कमजोरी सच्याएको दाबी गरे । अहिलेको लोकतान्त्रिक ‘गणतन्त्रको मूल सूत्रधार प्रचण्ड’ भएकाले उनले ल्याएको व्यवस्था सही हुने र प्रचण्ड स्वयं चाहीँ गलत हुनै नसक्ने उनको दाबी छ ।

‘नेपालको अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको सूत्रधार भनेको प्रचण्ड हो । जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । प्रचण्डले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र सही हुने तर प्रचण्ड गलत कसरी हुने रु यो व्यवस्था सही हो भने प्रचण्ड सही हो’–उनको जिकिर थियो ।

अर्का वक्ता संविधानविद् डा। रुद्र शर्माले संसद् प्रतिपक्षविहीन नभइसकेको बताएका छन् । संसद्मा दुई सांसद प्रतिपक्षमा रहेको स्मरण गर्दै उनले अहिले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न खडा भएको बताए ।

त्यसैगरी, वरिष्ठ अधिवक्ता केदार कार्कीले कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कुनै ठूलो गल्ती नगरेको दाबी गरेका छन् । सरकारलाई समर्थन दिएर सरकारमा जाँदै गर्दा कांग्रेस सरकार पक्ष हुने र यदि सरकारमा नगएको खण्डमा भने उ प्रतिपक्षकै रूपमा रहने उनको दाबी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com