२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

हाम्रा विश्वविद्यालयले व्यावसायिक र उद्यमशील जनशक्ति तयार गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

हाम्रा विश्वविद्यालयले व्यावसायिक र उद्यमशील जनशक्ति तयार गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्रै नभइ खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आत्मनिर्भर, व्यावसायिक र उद्यमशील जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले आइतबार आयोजित विश्वविद्यालयको ११औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्न र विश्व बजारमा पहुँच विस्तार गर्न व्यावसायिक र उद्यमशील जनशक्ति आवश्यक रहेको बताएका हुन् । उनले विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाउनु पर्नेमा जोड दिए ।

गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता पर्ने र राष्ट्रको सर्वाङ्गिण विकास र समुन्नतिका लागि दक्ष जनशक्ति उत्पादन हुनुपर्ने बताए । त्यही उद्देश्य प्राप्तिका लागि भन्दै करिब तीन दशक अगाडि स्थापित पूर्वाञ्चल विश्वविद्यालयले यस अवधिमा उल्लेख्य उपलब्ध हासिल गरेको प्रधानमन्त्री दाहालले बताए । ‘तीन दशकको यस अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छु,’ उनले भने, ‘विश्वविद्यालयको संस्थागत सुधार गर्दै उच्चशिक्षामा प्रतिस्पर्धी गुणस्तर प्राप्त गर्नका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् ।’

प्रधानमन्त्री दाहालले विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दिगो विकास, वातावरण संरक्षणबारे गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्दै लैजानुपर्ने सुझाव पनि दिए । ‘व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ,’ दाहालले भने, ‘प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ ।’

पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन, अनुसन्धानको केन्द्र बन्नुपर्ने उनले बताए । दाहालले विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा कुनै बाधा–अड्चन, कानुनी तथा नीतिगत समस्याहरू देखा परे आफूले समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता आश्वासन दिए ।

साथै विश्वविद्यालय अन्तरगत चाँडै मेडिकल कलेज सञ्चालन भई जनतामा गुणस्तरीय स्वास्थ्य सेवासमेत उपलब्ध हुनेमा पनि आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘त्यसका लागि उपयुक्त उपायहरूको खोजी गर्दै समन्वयात्मक रूपमा स्पष्ट कार्ययोजनाका साथ स्रोत–साधन जुटाएर र कानुनी जटिलतालाई हटाएर मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइ चाँडै एमबीबीएस तहको शैक्षिक कार्यक्रमको पठनपाठन सुरु गर्न नेपाल सरकारका तर्फबाट सक्दो सहयोग रहनेछ ।’​

११औं दीक्षान्त समारोहका अवसरमा पूर्वाञ्चल विश्वविद्यालयबाट कला, कानुन, शिक्षाशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि संकाय अन्तरगतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा एमफिल, स्नातकोत्तर र स्नातक उत्तीर्ण भई ग्रेस लिष्ट पुस्तिकामा नाम समावेश भएका ६ हजार ५१३ विद्यार्थी दीक्षित भएका छन् ।

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित दीक्षान्तमा एमफिल उत्तीर्ण गरेका ६, स्नातकोत्तरतर्फ एक हजार ४५ र स्नातकतर्फका ५ हजार ४६२ जना विद्यार्थी दीक्षित भए ।

सबैभन्दा धेरै चिकित्सा शास्त्रतर्फको स्नातक तहमा दुई हजार ३१४ र स्नातकोत्तरमा १० जना गरी २ हजार ३२४ जना विद्यार्थी दीक्षित भएका छन् । व्यवस्थापन संकायमा स्नातक तहमा एक हजार २४२, स्नातकोत्तरमा ६१४ र एमफिल तहको उपाधि ६ जनाले गरी एक हजार ८६२ दीक्षित भए ।

विज्ञान तथा प्रविधि संकायतर्फको स्नातक तहमा एक हजार २६१ र स्नातकोत्तर तहमा १२३ गरी एक हजार ३४८ जना विद्यार्थी दीक्षित भएको जनाइएको छ । शिक्षा शास्त्र संकायमा स्नातकमा ३५४ र स्नातकोत्तरमा १४८ गरी ५०२, कानुन संकायमा स्नातकतर्फ १९९ र स्नातकोत्तरमा १०७ गरी ३०६ र कला संकायको स्नातकमा ९२ र स्नातकोत्तरमा ४३ मा गरी १३५ जना दीक्षित भएका हुन् ।

विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री दाहालले केही विद्यार्थीहरूलाई मात्रै दीक्षित भएको प्रमाणपत्र बाँडेर हिँडेपछि अरु विद्यार्थीहरूले भने असन्तुष्टि पोखेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तरगत सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त देशभरका क्याम्पसहरूमा ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत विश्वविद्यालयका सिनेट सदस्यहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com