२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

एमाले नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी

काठमाडौँ । नेकपा एमालेका नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टीमा हाल पत्र लेखेर बिदामा बसेका थापाले नेकपामा प्रवेश गर्न छलफल सुरु गरेका हुन् । एमाले स्थायी समिति सदस्य समेत रहेका थापा आफ्ना पुराना सहकर्मी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने योजनामा रहेको बताइएको छ ।

थापा केही समयअघि कम्युनिस्ट विचार बोक्ने कलाकर्मीहरूले आयोजना गरेको राष्ट्रका लागि सङ्गीत अभियानमा सहभागी देशभर घुमेका थिए । त्यो अवधिमा उनी एमालेका बैठकमा सहभागी नभई पूर्ण रूपमा निष्क्रिय भई बसेर सांस्कृतिक कार्यक्रममा मात्रै सहभागी भएका थिए । सांस्कृतिक कार्यक्रम सकिएपछि उनले पार्टीलाई पत्र लेखेर बिदामा बसेको जानकारी गराएका थिए ।

त्यसपछि थापालाई पार्टीले कुनै जिम्मेवारी नदिई स्थायी समितिमा मात्रै राखेको छ । ‘हाम्रो पार्टीमा प्रवेश गर्न जिएसले छलफल गरी रहनुभएको छ । उहाँ (मणि थापा) पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ’ विप्लव नेतृत्वको नेकपा एक नेताले भने, ‘कुन जिम्मेवारी दिने र कहिले प्रवेश गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन ।’ अधिकांश पुराना सहकर्मी नेकपामै भएकाले एमाले छोड्ने तयारी गरेको ती नेताले बताए ।

थापा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका थिए । जनयुद्धमा सांस्कृतिक मोर्चामा सक्रिय भई लागेका थापाले २०६२ सालको चुनवाङ बैठकपछि अलग भई आफ्नै नेतृत्वमा पार्टी निर्माण गरेका थिए । २०७३ सालमा दश माओवादी घटक एकता हुने क्रममा उनी एकता प्रक्रियामा जोडिएका थिए । दश माओवादी घटकबीच एकतापछि बनेको माओवादी केन्द्रमा थापा स्थायी समितिको जिम्मेवारीमा थिए । तत्कालीन एमाले माओवादी एकतापछि उनलाई स्थायी समितिको जिम्मेवारी दिइएको थियो । एमाले माओवादी ब्युँतिएपछि थापाले माओवादी छोडेर एमाले रोजेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गैर सांसदको रूपमा खानेपानी मन्त्री बनाएपछि थापाले माओवादी छोडेका थिए । एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा उनलाई  स्थायी समिति सदस्यको जिम्मेवारी दिइएको थियो । एमालेमा चित्त बुझ्दो अवसर नपाएपछि थापा पछिल्लो समय असन्तुष्ट थिए । पछिल्लो समय उनी विप्लव नेतृत्वको नेकपा रोज्ने अवस्थामा पुगेका हुन् ।

यद्यपि, थापाले एमाले पार्टीमै रहने गरी पत्र लेखेर केही समय बिदा लिएर बसेको बताए । ‘मैले केही समय पार्टीबाट बिदा लिएर बसेको छु । तपाईँहरूले जसरी केही समय बिदा लिएर बस्नुहुन्छ नि त्यस्तै मैले एमालेबाट केही दिन बिदा लिएको छु । अरू कुनै पार्टीमा प्रवेश गर्ने भन्ने होइन’ रातोपाटीसँग कुरा गर्दै थापाले भने, ‘मेरो व्यक्तिगत पढ्ने,  लेख्ने, साहित्यका कामहरू छन् त्यसमा व्यस्त हुनलाई केही दिन बिदा लिएको हो ।’ पार्टीलाई पत्र लेखेर बिदा बसेकोलाई राजनीति रूपमा निष्क्रिय हुने भन्ने रूपमा नबुझ्न थापाले आग्रह गरे । आफू राजनीतिमै निरन्तर सक्रिय भई एमालेमा रहने थापाले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com