कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्छ : कार्की
![](https://www.janasewanews.com/wp-content/uploads/2023/06/susila1-1024x768.jpg)
काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छिन् ।
शनिबार काठमाडौँमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दु:खका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्ने गरी कमाएर बस्ने प्रवृत्ति भन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन् । राजनीतिमा गएर जुका जस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ ।
उनले गरिब जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिइरहनुपर्ने प्रवृत्ति पनि समाप्त हुनुपर्ने जिकिर गरिन् । उनले भ्रष्टाचारमा लिप्त भएकाहरूलाई पाखा लगाएर युवाहरूलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन् ।