२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

कोशीका पहाडी जिल्लामा बाढी पहिरो : कहाँ के कति भयो क्षति ?

विराटनगर- कोशी प्रदेशका पहाडी जिल्लामा भिषण बाढी पहिरो रोकिएको छैन । शुक्रबारदेखि सुरु भएको अबिरल वर्षापछिको बाढी र पहिरोले हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । बाढी र पहिरोमा परी २८ जना व्यक्तिहरू हराइरहेकोमा उनीहरूको जीवितै उद्दार हुने सम्भावना समेत न्यून हुँदै गएको छ ।

संखुवासभाको सुपर हेवा खोला जलविद्युत आयोजनामा कार्यरत १८ जना मजदुर हेवा खोलाको बाढीले बगाएर बेपत्ता भएका छन् । सोमबार विहानसम्म पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन । पहिरोले घर पुर्दा १० र बाढीले बगाएर १८ जनासहित २८ जना बेपत्ता भएका हुन् ।

पहिरोले पुरेर तीन र खोलाले बगाएर दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा चार पुरुष र एक बालिका छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार सवैभन्दा ठुलो क्षति संखुवासभामा भएको छ । बाढीले मोटरेवल, बेलिब्रिज र झोलुङ्गेसहित १३ वटा पुलहरू बगाएको छ ।

पाँचथरबाट ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको छ । क्षतिको विस्तृत विवरण तयार पार्न अझै कठिनाई भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् महाशाखाका उपसचिव अर्जुन निरौलाले जानकारी दिए ।

पहिरोमा पुरिएर उद्दार गरिएकी पाँचथर फालेलुङ–३ की वालिका जुना सावदेनको उपचारका क्रममा आइतबार नै निधन भएको छ । पाँचथरकै फिदिमस्थित माउण्टेन हाइड्रोको पावर हाउसबाट खोलाले बगाएका फिदिम–१० का सञ्जोग लोवाको शब कुम्मायक गाउँपालिका–५ स्याब्रुम्बास्थित तमोर नदी किनारमा फेला परेको पाँचथर प्रहरीले जनाएको छ ।

पाँचथरको हेवा खोलाको बाढीले बस्ती नै बगाउँदा अझै पाँचजना अझै बेपत्ता छन् । हिलिहाङ–७ का तिलकुमार तामाङ, फिदिम–५ घर भई हाल फिदिम–४ होवा खोलामा बस्न राजकुमार राई, हिलिहाङ–७ का आशिष माझी र उनकी पत्नी एलिसा माझीको अवस्था अज्ञात रहेको छ ।

पाँचथरमा बाढी पहिरोको जोखिममा रहेका २४ वटा घरपरिवारका मानिसहरूलाई तत्कालै अर्को सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको जनाइएको छ ।

ताप्लेजुङमा एकजनाको मृत्यु हुँदा तीनजना अझै बेपत्ता छन् । पहाडी क्षेत्रमा पानी नरोकिएका कारण  उद्दारमा समेत कठिनाई भएको छ । पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका–६ मेहेलेका गणेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

शनिबार राती पहिरो खस्न थालेपछि परिवारका सदस्यहरू जोगाउने क्रममा तामाङ आफैं पहिरो बगाएर बेपत्ता भएका थिए । शव आइतबार विहान काबेली खोला नजिकै भेटिएको प्रहरीको भनाई छ ।

पहिरोका कारण त्यहाँ पाँच दर्जन घरहरू जोखिममा रहेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि समेत कठिनाई भइरहेको जनाइएको छ । बाढी पहिरोकै कारण भोजपुरमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको हेवा खोलाको बाढीले बगाउँदा पाँचखपन–९ का सन्तोष राईको ज्यान गएको जनाइएको छ । बाढीले चैनपुर नगरपालिका–४ दोभानका ६ वटा घर बगाएको जनाइएको छ ।

बाढीले हेवा खोलाको पुल बगाउँदा संखुवासभाको चैनपुर र वानाबीच आवातजावत टुटेको छ । बाढीले विद्यालय र स्वास्थ्यचौकीहरू समेत बगाएको जनाइएको छ ।

ताप्लेजुङको याम्फुदिनमा काबेली खोलाको किनारमा रहेको बस्ती बगाएको छ । बाढी पहिरोले १५० मेगावाट कुल क्षमताका १३ वटा जलविद्युत आयोजना मध्ये अधिकांशमा क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादक संघले आइतबार विज्ञप्तिमार्फत जनाइसकेको छ । त्यसबाट अर्बौंको क्षति भएको उल्लेख छ ।

बाढीले निर्माणाधिन संखुवासभाको सुपर हेवा खोला हाइड्रोपावरको इन्टेक पूर्ण रुपमा बगाएको छ । सोही आयोजनाका जेसिबी ४, ट्याक्टर ३, मिक्सर ४ र एउटा क्रसर समेत बगाएको छ ।
फिदिम नगरपालिका–४ स्थित तमोर करिडोर सडक खण्ड अन्तरगत ताप्लेजुङ र पाँचथर जोड्ने सडकको बेलिब्रिज बगाउँदा दुईतर्फी सडक सम्पर्क टुटेको जनाइएको छ ।

ताप्लेजुङका प्रदेश सभा सदस्य समेत रहेका कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बाढी पहिरोले स्थानीयका घर गोठका पशुचौपायामा समेत बगाउँदा ठुलो क्षति भएको जानकारी दिए । सवैभन्दा आर्थिक क्षति तमोर करिडोरका ठुला जलविद्युत आयोजनाहरूमा पुगेको उनले बताए ।

बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर क्षति अवलोकन गरी आइतबार नै विराटनगर फर्किएका मन्त्री मेन्याङ्बोले जीवित व्यक्तिहरूलाई सुरक्षित स्थानमा लैजान र बेपत्ताहरूको जिवितै उद्दार गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुरक्षा निकायबीच समन्वय अघि बढाइसकेको बताए ।

उनले प्रभावित क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमको मुल्यांकन गरी सुरक्षित स्थानमा सार्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रदेशस्तरका सवै प्रमुखहरूबीच बैठक समेत सम्पन्न गरिसकेर उद्दारका लागि सुरक्षाकर्मीहरूको परिचालन भएको बताएका छन् ।

ताप्लेजुङको सुरुङ्दीनमा पहिरोको जोखिममा परेको एउटा परिवार जंगलको ओडारमा बसेका छन् । उनीहरूलाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गर्ने तयारी भइरहेको पनि मौसम प्रतिकुलता कायमै रहेकोले विराटनगरबाट हेलिकप्टर उड्न सकेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com