२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

गण्डकी र लुम्बिनीका नदी तटीय क्षेत्रमा बाढीको जोखिम

काठमाडौँ — गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा पछिल्लो २४ घन्टामा परेको वर्षाका कारण जल सतह बढ्न सक्ने र पहिरोको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट सुनिल पोखरेलले निरन्तर रुपमा परेको वर्षाका कारण जमिन भिजेर पहिरो जानसक्ने बताएका छन् ।

महाशाखाका अनुसार स्याङ्जा, दाङ, नवलपुर, रुपन्देही, पाल्पा र तनहुँमा पछिल्लो २४ घन्टामा परेको वर्षाले थ्रेसहोल्ड नाघेको छ । पछिल्लो २४ घन्टामा नवलपुरको डन्डामा सबैभन्दा बढी २२० मिलिमिटर वर्षा मापन गरिएको छ । दाङको कोइलाबासमा १५९, रुपन्देहीको तिलोत्तमा १६७, पाल्पाको गाँडाकोटमा १७८,नवलपुरको देउराली नवलमा २७६, स्याङजाको मुलाङ्गामा १४१, तनहुँको अत्रौलीटारमा १८७, तानसेनमा १६९ र भैरहवामा १३६ मिलिमिटर वर्षा २४ घन्टामा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल तिनाउ नदीको जलसतह खतरा तहभन्दा माथि रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । हाल कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही स-सना नदीहरुमा पनि बहाब बढेको छ । ती स्थानका तराई र चुरे भएर बहने खहरे खोलामा आकस्मिक बाढी हुनसक्ने विभागले जनाएको छ ।

विभागले कोशी जलाधार क्षेत्रमा पर्ने सप्तकोसी (चतरा), तमोर (त्रिवेणी क्षेत्र), अरुण (सिम्ले), सुनकोसी (हम्पचुवार) क्षेत्रमा जल सतह उल्लेख्य रुपमा बढ्ने प्रक्षेपण गरेको छ ।

यस्तै, नरायाणी जलाधार क्षेत्रको देवघाट, बेत्रावती, दमौली, कालिगण्डकी(कुमाल गाउँ)मा जल सतह उल्लेख्य रुपमा बढ्ने पोखरेलले जानकारी दिए ।

कर्णाली जलाधार क्षेत्रको असाराघाट, समजीघाट, दिपायल क्षेत्रमा पनि जल सतह बढ्ने विभागले जनाएको छ । यस्तै, महाकाली, कन्काइ, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबइमा पनि जल सतह बढ्ने विभागले जनाएको छ । विभागले रुपन्देही कपिलवस्तु पाल्पा नवलपरासीमा पनि आकस्मिक बाढी जान सक्ने औंल्याएको छ । विभागले ती क्षेत्र भएर बहने साना नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि सचेत गराएको छ ।

विभागका अनुसार १ घन्टामा ६० एमएम, ३ घन्टामा ८० एमएम, ६ घन्टामा सय एमएम, १२ घन्टामा १२० एमएम र २४ घन्टामा १४० एमएम वर्षा हुँदा आकस्मिक बाढी एवं पहिरो जाने खतरा हुने गर्छ । ती क्षेत्रमा उक्त परिणामको वर्षा हुँदा पानीले जमिन भिजाएर पहिरो जानसक्ने सम्भावना हुने वरिष्ठ हाइड्रोलोजिस्ट पोखरेलले जानकारी दिए ।

काठमाडौंलगायतका सहरी क्षेत्रमा एक घन्टामा ६० मिलिमटर वर्षा हुँदा जलमग्न हुने गर्छ । सहरी क्षेत्रका सतहहरूमा कंक्रिटका संरचना र जताततै पिच र ढलान हुने भएकाले वर्षा भएको पानी जमिनमुनि छिर्न नसक्दा बाढी तथा डुबानको समस्या हुने गर्छ ।

बाढी पूर्वानुमान महाशाखाले २/३ घन्टाको वर्षा मापनलाई आधार मानेर एसएमएसमार्फत जानकारी दिएर सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । नवलपरासीको डण्डास्थित वर्षामापन केन्द्रलगायत धेरै स्थानमा भारी वर्षा भएको र थप हुने जनाउँदै महाशाखाले डण्डा, कावसोती र आसपासका खोलाहरूमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसरी अघिल्लो दिन नै बाढी पूर्वानुमानको सूचना दिँदा तटीय क्षेत्रमा रहेका मानिसहरुले सतर्कता अपनाउँदा जिउधनको क्षति कम गर्न सकिने पोखरेलले बताए । जवकि विभागले तिनाउ नदीमा शनिबार जल सतह खतराको तहमा पुग्ने भन्दै शुक्रबार नै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com