२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

महिलाको मृत्युपछि चिकित्सक भागे, अस्पतालमा ताला

जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि चिकित्सक भागेका छन् ।

घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेर भागेपछि बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए ।

मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार  दिउँसो मृत्यु भएको थियो ।

मृतकका भाइ उदयकुमार साहका अनुसार बुधबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया असफल जस्तो भएपछि चिकित्सकहरु आत्तिएर तुरन्तै टाका लगाएका थिए । शुक्रबार दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । केहीबेरमै चिकित्सक तथा स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर अन्य लग्ने प्रयासमा थिए । आफन्तजनले रोकेर कराएपछि स्थानीयहरु जम्मा भएका थिए ।

‘हामीलाई नसोधी डाक्टर नर्सहरुले आफैं एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर लग्दै छौं भन्यो । हामीले मान्छे बोलाएर रोकायौं । हेरेपछि दिदीको मृत्यु भइसकेको थियो,’ भाइ उदयले भने, ‘लगतै डाक्टरले पुलिस बोलाएर सबैजना भागे । दिदीको अप्रेशनमा लापरबाही गर्दा नै मृत्यु भएको हो ।’

डा.सरोज ठाकुरले संचालन गरेको अस्पतालमा महिलाको मृत्यु पश्चात आफन्तजनले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । कुनै प्रकारको क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । चिकित्सकहरु भागेपछि अन्य बिरामीहरुलाई अन्यत्र हस्पिटलमा सारिएर ताला लगाइएको हो ।

पाँच घण्टा पश्चात राति साढे ८ बजेतिर शव पोस्टमार्टमका लागि लगिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com