२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

झापाका किसानले पाएनन् ड्रागन फलको दाम

झापा । यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् ।

‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,’ गौरीगञ्ज गाउँपालिका-२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका भूपेन्द्र थापा भन्छन्, ‘त्यत्रो लगानी र मेहनत गरियो । अहिले उत्पादन बेच्ने बेलामा बजारमा दामै नपाएको अवस्था छ ।’

उनले १० हजार सिमेन्टका पिलरमा ४० हजार रातो ड्रागन फलको बोट हुर्काएका छन् । विगत दुईवर्ष अघि रोपिएका ती बोटमा अहिले राताम्य फल लागेर पाकेका छन् । तर दाम भने प्रतिकिलो रु दुई सयदेखि तीन सयसम्ममा बेच्नु परिरहेको छ ।

उनले यू-ट्युवमा हेर्दा ड्रागन फल मिठो, पोषिलो र महँगोमा बिक्री हुने फलफूल हो भन्ने सुनेर त्यसको खेती सुरु गरेको बताए ।  प्रतिकिलो रु एक हजारसम्म बजारमा सजिलै बिक्री हुन्छ भनेर प्रचार हुने गरेको तर, अहिले बजारमा यसको भाउ आधाभन्दा बढी घटेको उनले सुनाए ।

थापाले सुमेरु कृषि फार्म प्रालि स्थापना गरी ड्रागन फलको व्यावसायिक खेती गर्नुभएको हो । गतवर्ष नै उहाँको फार्ममा फल लाग्न थालेका थिए । यसपाली त लटरम्मै फलेका छन् ।

दमक, विर्तामोड, गौरीगञ्ज, इटहरी र धरानका बजारसम्म पुर्‍याएर बेच्दा पनि बढीमा प्रतिकेजी रु पाँच सय पाएको उनले बताए । धेरै फल टिप्नु परेका बेला घाटा बेहोरेर प्रतिकेजी रु दुई सयमा पनि बिक्री गरेको हुँदा ड्रागन खेतीमा भएको लगानी डुब्ने जोखिम बढेको उहाँको भनाइ छ ।

बुद्धशान्ति गाउँपालिका-१ मा ब्रह्याकमल बगैँचा कृषि फार्मका सञ्चालक कृष्ण पोखरेलले गत वर्षको तुलनामा आधा कम मूल्यमा ड्रागन फल बिक्री गरिरहेको बताए । उनले १० कठ्ठा जमिनमा खेती गर्दै आउनु भएको छ । खेतीका लागि बनाइएको सिमेन्टको पिलर र त्यसमा बिरुवा अड्याउने टायरको दामसमेत महङ्गिएको उनले बताए ।

श्रमिकको ज्याला, मलखादको मूल्य लगायतको दाम बढिरहेको जनाउँदै उनले बजार र मूल्यको सुनिश्चितता नहुँदा ड्रागन खेतीमा लागेका किसानमा निराशा बढेको बताए ।गत असार १५ गतेदेखि फल टिप्न सुरु भइसकेको छ भने कात्तिक अन्तिमसम्म फल पाकिसक्ने भएता पनि अहिले फल पाक्ने उच्च सिजन हो ।

उनले गतवर्ष फार्मबाटै न्यूनतम प्रतिकेजी रु छ सयमा बिक्री गरेको ड्रागन फलको मूल्य हाल आधासम्म ओरालो झरिसकेको छ । उनले सामाजिक सञ्जालमै राताम्मे पाकेका ड्रागन फलको तस्बीर पोस्ट्याएर बिक्री बढाउने उपाय खोजिरहेका छन् ।

कृषि ज्ञान केन्द्र झापाले ड्रागन फल खेतीका लागेका किसानलाई समेत प्रोत्साहनस्वरुप अनुदान दिनेको गरेको जनाएको छ । ज्ञान केन्द्रबाट सुमेरु कृषि फार्मले पिलर निर्माणका लागि गतवर्ष रु सात लाख अनुदान पाएको थियो । अरु किसानले पनि अनुदान पाएका छन् ।

सुमेरु कृषि फार्मका सञ्चालक भूपेन्द्र थापाले गत वर्ष रु १२ लाखको ड्रागन फल बिक्री गरेको बताए । यसवर्ष उत्पादन दोब्बर हुने भए पनि मूल्य घटेका कारण उनले आम्दानी घट्ने बताए ।

कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख चेतराज भण्डारीले जिल्लामा ६० हेक्टर जमिनमा ड्रागन फलको व्यावसायिक खेती हुँदै आएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हेक्टरमा भएको खेतीबाट एक सय ८० मेट्रिक टन ड्रागन फल उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा ५० हेक्टर जमिनमा यसको खेती विस्तार भएको थियो । जसबाट किसानले पाँच सय ६८ मेट्रिक टन फल उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा ६० हेक्टरमा यसको खेती विस्तार भएको थियो भने उत्पादन छ सय ८५ मेट्रिक उत्पादन भएको थियो ।

मूल्यमा अस्थिरता भएता पनि ड्रागन फलको खेतीमा किसानको आकर्षण बढिरहेको दाबी गरे । जिल्लाको गौरादह, दमक, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र गौरीगञ्ज, बुद्धशान्ति, कमल, झापा गाउँपालिकामा यसको व्यावसायिक खेती भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com