२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री

कास्की – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका गृहमन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गरे । उनले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिए ।

गृहमन्त्री श्रेष्ठले भने, “हालका उपलब्धिलाई राजनीतिक परिर्वतनको क्षेत्रमा सीमित गरियो भने परिर्वतनको औचित्य आम जनतामा पुष्टि हुन सक्दैन । जनताको जीवनमा राजनीतिक परिर्वतनले परिर्वतन ल्याउन सक्नुपर्दछ ।”

राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक, आर्थिक रुपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उनले बताए ।

वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउन चाहेको श्रेष्ठले बताए । “सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्ने छ, द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने छ, यसपटक हरहालतमा सङ्क्रमणकालीन न्यायको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा टुङ्गोमा पुर्याउन सरकार लागिपरेको छ”, गृहमन्त्री श्रेष्ठले भने ।

पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न यस प्रदेशका नेता–कार्यकर्तालाई उनले निर्देशनसमेत दिए । अभियानका क्रममा नयाँ सदस्यता वितरण, सङ्गठन सुदृढीकरण, सङ्गठन पुनःगठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रह गरे ।

उनले भने, “जनताको बीचमा जाँदा हरेक जनताको घरमा पुग्नुपर्दछ, हाम्रो पार्टीको समर्थक मात्र होइन, विपक्षीको घरमा पुगेर सरकारले सुशासनका लागि गरेका कामका बारेमा सुझाव लिनुहोला । हामीले गरेको काम जनतालाई बताउनुपर्दछ, सुझाव लिनुपर्दछ र जनताले गाली गरे पनि सहनुपर्दछ ।”रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com