२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

एमाले मधेस अधिवेशन : चार जना नेतृत्वका लागि आकांक्षी

जनकपुरधाम- नेकपा एमालेका लागि यो वर्ष अधिवेशनको वर्षको रुपमा रहेको छ । अहिले एमालेको विभिन्न प्रदेशमा अधिवेशन सम्पन्न भई सकेको छ भने केही प्रदेशमा अधिवेशन हुन बाँकी छ । मधेस प्रदेशमा समेत अधिवेशनको तयारी तीव्र पारिनुका साथै नेताहरू नेतृत्वका लागि तयारी गरिरहेका छन् ।

असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्वमा आउन ४ नेताहरू आकांक्षी देखिएका छन् । ८ जिल्ला रहेको मधेस प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट समेत सम्पन्न भई सकेको छ ।  मधेसका १३६ पालिका, २३ जनसंगठन, ८ प्रदेश विभागबाट १ हजार २७ प्रतिनिधि छनौट गरिएको छ । पालिकाबाट ३ देखि २३ जनासम्म, जनसंगठनबाट ७९ र विभागबाट १६ जना छनौट गरिएको एमालेका एक नेताले जानकारी दिए ।

मधेसको नेतृत्व लिनका लागि एमालेमा चार जना नेता अकांक्षी देखिएपनि एमाले सचिव एवं प्रदेश ईन्चार्ज योगेश भट्टराई सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा खटिरहेका छन् । उनी पार्टीमा तलदेखि माथिसम्म सबै एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ सर्वसम्मत गराउने प्रयासमा खटिरहेका छन् । कोशी प्रदेशको ईन्चार्ज भए पनि मधेसमा पार्टीभित्र दख्खल राख्ने एमाले सचिव रघुवीर महासेठ पनि सहमतिमै नेतृत्व छनौट हुनुपर्ने पक्षमा रहेका छन् । यी दुई नेता सर्वसम्मत गराउने प्रयासमा लागिरहेको समयमा नेताहरू दुई धारमा बाँडिएको स्पष्ट देख्न सकिन्छ ।

प्रदेशको नेतृत्वका लागि रेवती पन्त, राजकिशोर यादव, विचाजी यादव र सुमन प्याकुरेलले लबिङ्ग गरिरहेका छन् । प्रदेशको नेतृत्व पोलिटब्युरोबाट कुनै नेताले पाउनुपर्ने पक्षमा प्याकुरेल देखिएका छन् । सोही अनुरुप आफूले दावेदारी पेश गरिरहेको प्याकुरेलले बताए । पोलिटब्युरोबाटै पुरुषोत्तम पौडेलको नामसमेत चर्चामा रहेपनि उनी पछि हटेको एक नेताले बताए । नयाँलाई नेतृत्व विकास गर्नुपर्छ भन्ने पक्षमा राजकिशोर यादव र रेवती पन्त छन् ।

यादवले धनुषा जिल्ला कमिटीमा दुई पटकसम्म अध्यक्ष भएर काम गरिसकेका छन् । यादव अब जिल्लाभन्दा माथि जाने प्रयासमा लागेका छन् । मधेस प्रदेशका वर्तमान अध्यक्ष रामऔतार साहले जनप्रतिनिधि भएकै कारण अध्यक्ष पदमा लड्न पाएनन् ।  उनी २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा सिराहाको सुखीपुर नगरपालिकाका प्रमुख  बनेका छन् ।

चर्चामा रहेकामध्ये राजकिशोर यादव र विचारी यादवकै पक्षमा सर्वसम्मत गराउने प्रयासमा नेताहरू लागेका छन् । दुबै नेता एमाले सचिव महासेठ पक्षधर मानिन्छन् । यता महासेठसँग बिच्किएकाहरू मधेसको नेतृत्वका लागि प्याकुरेललाई अगाडि बढ्‌न दवाब दिइरहेका छन् ।

एमाले स्रोतका अनुसार राजकिशोर यादव या विचारीमध्ये कोही एक जना मात्रै महासेठ समूहबाट उम्मेदवार बन्नेछन् । यद्यपि अहिलेसम्म केन्द्रीय नेताहरू कुनै पनि नेताका पक्षमा खुलेका छैनन् । केही प्रदेशमा निर्वाचनबाटै नेतृत्व छानिएकाले मधेसमा पनि निर्वाचन बाटै नेतृत्व चुनिने सम्भावना रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com