२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

केदारलाई काँध हालेका हिक्मतले भने : सिट संख्या र शक्तिका आधारमा सिट बाँडफाँट गर्न लचिलो छौं

विराटनगर- कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कांग्रेसकै प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गराउन काँध थापेका एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिमा मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् ।

एमालेले सहमतीय सरकारको पक्षमा रहे पनि त्यसका लागि गरेको यसअघि गरेको प्रयासमा सत्ता गठबन्धनमा रहेका मुख्य दलहरू जिम्मेवारपूर्वक अघि नबढेका कारण अहिले कार्कीलाई साथ दिनु परेको उनले बताएका हुन् । कार्कीले केदार कार्की नेतृत्वको सरकारमा आउन चाहने अरुलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने मान्यतामा एमाले रहेको बताए । मन्त्रिमण्डल विस्तार गर्दा सिट संख्या र शक्तिको आधारमा बाँडफाँट गर्न एमाले लचिलो रहेको उनले स्पष्ट पारे ।

‘क्याबिनेटमा सिट संख्या र शक्तिको आधारमा बाँडफाँट हुने हो, त्यसमा हामी लचिलो छौं, छलफल गरेर निष्कर्षमा पुर्‍याउँछौं,’ कार्कीले भने, ‘एमालेले कांग्रेसको कार्की पक्षसँग साथमा अघि बढ्न तयार छ र, अरु आउनेलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ भन्ने मान्यतामा छौं ।’

हिक्मतले केदार कार्की नेतृत्वको नवगठित सरकारलाई चारै वर्षका लागि सँगै लिएर जान एमाले तयार रहेको बताए । एमाले पहिल्यैदेखि सहमतीय सरकारका लागि प्रयासरत रहे पनि केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूको हठको कारण सम्भव नभएको र अहिले कांग्रेसभित्रैबाट केदार कार्कीले सहयोग मागेपछि एमाले संस्थागत रुपमा सहयोग गरेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सत्ता गठबन्धनबाट निर्णय गराएर कोशी प्रदेशमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउन गरेको निर्णयलाई चुनौती दिँदै केदार कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि एमालेका ३९ जना सांसदहरूको नेतृत्व गरेर प्रदेश प्रमुखको कार्यालयमा पुगेका कार्कीले कांग्रेसले संस्थागत रूपमै एमालेसँग सहकार्य गर्ने अपेक्षा गरे पनि त्यसमा रुचि नदेखाएका कारण केदार कार्कीलाई सहयोग गर्नुपर्ने अवस्था बनेको प्रष्टीकरण दिए ।

‘हाम्रो प्रयास सर्वदलीय सहमतिको सरकार नै थियो, त्यसलाई कांग्रेसको संस्थापन पक्षले र माओवादीले अस्वीकार गरेका कारण मेरो नेतृत्वको १६८ को उपधारा (३) को सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था बन्यो,’ हिक्मतले भने, ‘त्यसपछि १६८ को (५) को बाटो खुल्यो, त्यो बाटोमा कांग्रेसको केदार कार्कीले हामीसित सहयोगको अपेक्षा गर्नुभयो, एमालेले संस्थागत हिसाबले नै सहयोग पुर्‍याएर वहाँले बहुमत पुर्याउनु भएको छ ।’

कोशी प्रदेशको स्थायित्वका लागि एमालेले माओवादीलाई पनि मिलेर जानका लागि आग्रह गरिएको बताए । तर, माओवादी रुचि नदेखाएका कारण त्यताको विकल्पमा संवाद हुन नसकेको दाबी गरे । एमालेले बहुमतका लागि जसले संख्या लिएर पनि समर्थन गर्ने नीतिमा रहेको स्पष्ट पार्दै अन्तिममा कांग्रेसकै केदार कार्कीलाई समर्थन गर्नुपरेको बताए । अब कोशी प्रदेशमा तत्काललाई मध्यावधिमा जाने सम्भावना समाप्त भएको कार्कीले बताए ।

‘माओवादी र हामी मिलेर जाने हो भने त्यो पनि बहुमत हुन्छ स्थायित्व हुन्छ, जाउँ भन्दा वहाँहरूले रुचि राख्नु भएन र कुरा गर्न चाहनु भएन, त्यसपछि तत्काललाई विकल्प थिएन, हामीले जो व्यक्तिले सहकार्य हुने गरी संख्या लिएर आउनु भयो उसैलाई सहयोग गर्छौँ भनेका थियौं,’ कार्कीले भने, ‘माननीय केदार कार्कीले त्यो संख्या लिएपछि हामीले समर्थन दियौं, अब तत्काललाई मध्यावधि निर्वाचनको सम्भावनाको पनि टर्यो ।’

एमालेका कार्कीले अब केदार कार्की नेतृत्वको सरकारले विश्वासको मतमा पनि बहुमत प्राप्त गर्ने र चारै वर्ष यही सरकारले निरन्तरता पाउने बताए । कार्की नेतृत्वको सरकारले नै अब संविधानको रक्षा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको जगको ढुंगा बन्ने बताए । त्यही उद्देश्य पुरा गर्न यो सरकार स्थापना गरेको समेत उनले प्रष्टीकरण दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com