२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

एकसाथ चार चलचित्र छायांकन

काठमाडौँ – अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायांकन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायांकनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्यांकन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायांकन भइरहेको छ ।

काठमाडौँका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र हो, ‘११ः५५’ । केशव पाण्डेको कथा र निर्देशनमा छायाङ्कन भइरहेको उक्त चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

अपराध, थ्रिलर, सस्पेन्स विधामा रहेर चलचित्र तयार गरिएकाले सोही सन्दर्भसँग मिल्दो नाम राखिएको निर्देशक पाण्डेले जानकारी दिए । “हाम्रो विषयअनुसार बढी छायांकन रातमा गरिरहेका छौँ । हामीले रातकै दृश्य खिच्नुपर्ने भएकाले यही समय रोजेका हौँ”, उनले भने । यसको अन्तिम चरणको काम भइरहेको उनले जानकारी दिए । यस चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन् ।

यस्तै चलचित्र ‘मनसरा’को पनि काठमाडौँमा छायांकन भइरहेको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।  यसको छायांकन काठमाडौँ आसपासमा भइरहेको छ । यसको शीर्ष भूमिकामा अभिनेत्री मगर छिन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को दोस्रो चरणको छायांकन ओखलढुङगास्थित रुम्जाटारमा भइरहेको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिरहनु भएको छ । यसको छायांकन सकाएपछि अभिनेता राईले चलचित्र ‘मनसरा’ सुरु गर्नेछन् ।

शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिए । विसं २०८१ वैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि सो चलचित्र छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ ।

चलचित्र ‘फर्की फर्की’को पहिलो चरण पोखरामा छायांकन सकिएको र काठमाडौँसँगै बाँकी काम छिट्टै सुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिए । सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको सो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरिरहेका छन् । यो चलचित्र २०८१ को जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com