२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

अर्को चुनावमा कांग्रेसलाई देखाईदिने प्रधानमन्त्री प्रचण्डको उद्घोष

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को रोष्ट्रममा उभिएर नेपाली कांग्रेसले अब ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । आफूले संवैधानिक व्यवस्थाअनुसार संसद्मा विश्वासको मत लिने प्रक्रियालाई नै अवरुद्ध गर्नेगरि प्रमुख प्रतिपक्षी दलको नेपाली कांग्रेसले सदन अवरोध गरेपछि रोष्ट्रममा उभिएर प्रधानमन्त्री प्रचण्डले ‘कांग्रेसलाई आजको दिन भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने दिन’ हुनेछ भनेर चेतावनी दिए ।

उनी कांग्रेसप्रति सार्वजनिक रुपमै यसरी कडा रुपमा प्रस्तुत भएपछि मिडियाकर्मीहरुले कांग्रेसले अब कस्तो मूल्य चुकाउनुपर्ने हो भनेर जिज्ञासा राख्दा प्रधानमन्त्री प्रचण्डले आगामी निर्वाचनमा कांग्रेसले थाहा पाउने भनेर छोटो प्रतिक्रिया दिए । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राम्रो दोस्ती देखिएको छ ।

नेकपाकालिन एकता जोगाउन नसकेकोमा पछुतो मान्दै अब विगतको गल्ती तथा कमजोरी सच्याएर अघि बढ्नुपर्ने निश्कर्षमा दुवै नेता सहमत भएका छन् । प्रधानमन्त्री दाहालले आगामी निर्वाचनसम्म पुग्दा एमालेसँग एकता गरिसक्ने मन बनाएका छन् । एमालेका पनि दोस्रो तहका नेताहरु यसको लागि गृहकार्यमा जुटेका छन् । खासगरी उपाध्यक्ष विष्णु पौडेलले वामपन्थीहरुबीच एकता सम्भव रहेको भन्दै सक्रियताका साथ त्यसलाई सार्थक बनाउन पहिले माओवादीसँग एकता गर्नेगरि व्यस्त छन् ।

प्रधानमन्त्री दाहालले पनि कांग्रेससँग चुनावी तालमेल गर्दा आफ्नो शक्ति क्षयीकरण भएको निश्कर्ष निकालेका छन् । उनले एमालेसँग सहकार्य हुँदा राम्रोसँग मत ट्रान्सफर भएको तर कांग्रेससँगको सहकार्य आफू र पार्टीको लागि नै महँगो सावित भएको निश्कर्ष निकालेका छन् । ०७४ को निर्वाचनमा एमालेसँग सहकार्य गर्दा पहिलोपटक जनआधार नहुँदापनि एमालेको बलमा प्रचण्डले चितवन–३ बाट शानदार ढंगले चुनाव जितेका थिए ।

तर, एमालेसँगको शत्रुतापूर्ण सम्बन्धमा रहँदा र कांग्रेससँगको मायावी सम्बन्धमा हुँदा भने प्रचण्डलाई आफ्नो क्षेत्र नै छोडेर जानुपर्ने स्थिति बनेको थियो । उनले ०७९ को निर्वाचनमा गोरखा रोज्नुपर्यो । उनको लागि पूर्व प्रधानमन्त्री तथा पूर्व सहयोद्धा कमरेड बाबुरामले नै चुनावी क्षेत्र खाली गरेको चर्चा हुने गरेको छ । अहिले प्रचण्डले कांग्रेसलाई देखाईदिने भनेर दिएको चेतावनी पनि एमाले–माओवादी एकतासम्म पुग्ने अनि चुनावबाट धुलिसात पार्ने नै हो ।

प्रचण्डले संसद् भवनबाट बाहिरिने क्रममा पनि आज यो कुरा दोहोर्याएका छन् । एमाले अध्यक्ष ओलीसँग दीर्घकालिन रुपमा सहकार्यको लागि प्रचण्डले हात अघि बढाईसकेका छन् । सरकार सञ्चालनमा निरन्तर अवरोध सिर्जना भए दुई नेता पार्टी एकताको तहसम्म पुग्ने सोचका साथ अघि बढेको चर्चा दुवै दलमा हुने गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com