अखिल क्रान्तिकारीमा प्रचण्डमाथि जनार्दन शर्मा पक्ष हाबी

पार्टीभित्र पेलानमा पर्दै आएका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनको चुनावबाट जबर्जस्त सन्देश दिन सफल भएका छन् ।
काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालमाथि पछिल्ला दिनमा दबाब बढाउँदै लगेका उपमहासचिव जनार्दन शर्माले विद्यार्थीको सम्मेलनमार्फत् थप चुनौती पेश गरेका छन् ।
माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको ध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । ६ सय ८६ मत ल्याएर सापकोटाले अध्यक्ष जितेका हुन् । सापकोटा अध्यक्ष प्रचण्ड पक्षधरहरूको प्यानलका उम्मेदवार थिए ।
निकटतम प्रतिस्पर्धामा ६ सय १५ मत ल्याएका हेमन्त राई पार्टी उपमहासचिव शर्मा निकट पक्षधरका उम्मेदवार हुन् ।
गत १३ माघमा सम्पन्न मतदानमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शर्मा र अर्का उपमहासचिव वर्षमान पुन पक्षधरले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । आज अन्तिम नतिजा सार्वजनिक हुँदा जनार्दन शर्मा हाबी हुन पुगेका छन् ।
अध्यक्ष पदमै पनि शर्मा पक्षधर उम्मेदवार राईले बलियो चुनौती दिए । नारायणकाजी श्रेष्ठ पक्षधर उपदेश यादव र उपमहासचिव वर्षमान पुन पक्षधर सुदिन पौडेलले भने आफ्नो पक्षधरको मत जोगाउन मात्र सके । यादवले ३ सय १० र पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।
यद्यपि अरू पदमा प्रचण्ड पक्ष कमजोर देखिएको छ ।
अधिकांश पदाधिकारी शर्मा पक्षधर
मतदानबाटै ३२ वर्षे उमेर हद लागू गरेर सम्पन्न अखिल क्रान्तिकारीको नेतृत्व प्रचण्ड पक्षधरले नै जित्दा महासचिव, कोषाध्यक्ष सहित अधिकांश पदाधिकारी जनार्दन पक्षले जितेका छन् । महासचिव जितेका रोशन थापा मगर र कोषाध्यक्ष जितेका फूलमाया राना मगर जनार्दन पक्षबाटै उम्मेदवार थिए ।
९ जना उपाध्यक्षमा जनार्दन पक्षधरकै पाँच जना निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित भएकाहरू सन्दिप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९) र अभिमन्यू यादव (५७५) पनि जनार्दन समूहका हुन् ।
अन्य पाँचमध्ये विजयप्रकाश सापकोटाको प्यानलबाट अटल आचार्य (५७१) र मदन ढकाल (५४१) निर्वाचित भएका छन् ।
अर्का उपाध्यक्षमा निर्वाचित विराज थापा (४८२) वर्षमान पुन निकट सुदिन पौडेलको प्यानलबाट प्रतिस्पर्धामा थिए । उपाध्यक्षमै निर्वाचित दीपा जैसी (४०८) कुनै प्यानलमा थिइनन् ।
उपमहासचिवहरूमा त शर्माको लगभग एकलौटी जस्तो देखिएको छ । भूगोलका आधारमा निर्वाचित हुने उपमहासचिव मध्ये कोशीबाट जितेका बिपिन पोखरेल र उपत्यका विशेष प्रदेशबाट जितेका निरोज श्रेष्ठ बाहेक सातै जना शर्मा पक्षधर हुन् ।
निर्वाचित उपमहासचिवृ गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम) र जटिल कार्की (विश्वविद्यालय) जनार्दन पक्षका हुन् ।
बिपिन पोखरेल वर्षमान पुन निकट र निरोज श्रेष्ठ नारायणकाजी पक्षका हुन् ।
सचिवहरूमा पनि जनार्दन पक्ष हाबी भए । सचिव निर्वाचित विरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल र युन्छो हाङ माबो जनार्दन शर्मा पक्षका हुन् ।
वर्षमान पुन पक्षबाट तिर्सना आले मगर र जितेन्द्र भण्डारी, नारायणकाजी पक्षबाट प्रेम जैशीले सचिव जिते । खुला सचिव जितेका शिशिर बस्याल तटस्थ तटस्थ उम्मेदवार हुन् ।
अर्थात् पार्टीभित्र पेलानमा पर्दै आएका उपमहासचिव शर्माले विद्यार्थी संगठनको चुनावबाट जबर्जस्त सन्देश दिन सफल भएका छन् । शर्मा पक्षका राईले झण्डै अखिल क्रान्तिकारीको अध्यक्ष पदमै जितेका थिए ।
बलियो प्रतिस्पर्धा देखिएपछि केही दिन मतगणना नै रोकिएको थियो । प्रचण्ड पक्षले मतपत्रमा प्रयोग भएको रातो र कालो दुवै मसीलाई सदर मान्नुपर्ने अडान लिएको थियो । तर रातो मसी प्रयोग गर्ने पूर्वनिर्णयको पक्षमा अरु उम्मेदवार उभिए, र त्यसैअनुसार बाँकी गणना भएको थियो ।
अन्तिम नतिजा आउँदा भने प्रचण्ड पक्षधर सापकोटाले जिते । सापकोटालाई जिताउन पार्टीभित्र राम्रै कसरत भएको थियो । त्यसको एउटा उदाहरण कृष्णबहादुर महरा पक्षधर योगेन्द्रबहादुर बुढाले अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिनु हो । बुढाले उम्मेदवारी फिर्ता लिएर सापकोटा प्यानललाई समर्थन गरेका थिए । यद्यपि जनार्दन पक्षले दिएको टक्कर चानचुने देखिएन ।