६.१ म्याग्निच्युडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु


काठमाडौँ- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।
खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।
राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।

भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । भोटेकोशी गाउँपालिकाको कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । भोटेकोशी गाउँपालिका-३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
थापाका अनुसार भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ ।



