२०८२ बैशाख १३ - Sat Apr, 2025 -

Janasewa News

हङकङमाथि नेपालको सान्त्वना जित

काठमाडौँ — नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले युगान्डामा भइरहेको चारदेशीय प्रतियोगितामा केवल दोस्रो विजय हात बेहोरेको छ । पहिलो ५ मध्ये ४ खेल हारेर फाइनल दौडबाट बाहिरिइसकेको नेपालले शुक्रबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

हङकङले इन्टाबेमा टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४ रन बनायो । केही प्रमुख खेलाडीविना उत्रिएको हङकङबाट ओपनर सान्जिन शाहजादले ५४ रन बनाइन् ।

उनले ४७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरिन् । अर्की ओपनर नताशा मिल्सलाई पूजा महतोले शून्यमै आउट गरेकी थिइन् ।

केरी च्यान १६ र यास्मिन दास्वानी १४ रनमा आउट भए । नेपालबाट राजमती ऐरीले ३ विकेट लिइन् । उनले ४ ओभरमा १७ रनमात्र खर्चेकी थिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ तथा पूजा र ईश्वरी विष्टले १–१ विकेट लिए ।

ओपनर सम्झना खड्काले ४७ रन बनाएपछि नेपालले ३ बलअगाडि लक्ष्य पूरा गर्‍यो । प्लेयर अफ द म्याच सम्झनाले ४३ बल खेल्दै ३ चौका प्रहार गरिन् ।

सम्झना र इन्दुले पहिलो विकेटमा १० ओभरभित्र अर्धशतकीय साझेदारी गरेका थिए । इन्दु ३२ बल खेल्दै १ चौका प्रहार गरी १८ रनमा आउट भइन् । रोमा थापा र विन्दु रावल समान ४ रनमा रनआउट भए पनि पूजाले २६ बलमा अविजित २० रन बनाएर नेपाललाई जिताइन् । एलिसा यादव ५ रनमा अविजित रहिन् ।

नेपालले आइतबार हङकङसँगै तेस्रो स्थानको प्लेअफका लागि खेल्नेछ । हङकङले ६ खेलमा ३ मात्र जिते पनि फाइनल दौडबाट बाहिरिएको थियो । अफ्रिकी टोलीद्वय युगान्डा र नामिबिया आइतबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । आयोजक युगान्डाले ६ मध्ये ४ र नामिबियाले ३ खेल जितेका थिए ।

नेपाललाई पराजित गरेको भए हङकङ फाइनल पुग्ने थियो । तर, नेपालसँगको हारपछि हङकङ रनरेटमा नामिबियाभन्दा पछाडि रह्यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com