बालेनले द्धरा गणतन्त्र दिवसको समारोहलाई बहिष्कार, बालेनप्रति प्रधानमन्त्रीले गरे खरो टिप्पणी

काठमाडौं । गणतन्त्र दिवसको तयारी समिति बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उपस्थित नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीप्रति क्रुद्ध देखिएका छन् । आज सिंहदरबारमा भएको बैठकमा उनले बालेनको नाम नलिइकन तीव्र रोष प्रकट गरे ।
प्रधानमन्त्री कार्यालयमा नै भएको बैठकमा काठमाडौं महानगरबाट उपमेयर सुनीता डंगोलले भाग लिएकी थिइन् । ललितपुरका मेयर चिरिबाबु महर्जन पनि उपस्थित थिए । बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति २०८२’ गठन गरेको छ । प्रधानमन्त्रीले उधुमसँग गणतन्त्र दिवस मनाउन निर्देशन दिएका थिए ।
आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले बालेनलाई लक्ष्यित गर्दै दिएको अभिव्यक्ति यस्तो छः
कहिले पनि नआउने, नाम राखिरहनु पर्ने, मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो । कोही कोही मान्छे सधैँ राख्ने गर्छौं हामीले हरेक फङसनमा । कहिल्यै देखा पर्दैनन्, केही गर्दैनन्… त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई… (आफैँ हाँस्छन्) । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने…. कुनै व्यक्तिलाई कुनै अर्थ छैन, वास्तै छैन महत्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ कि ? तपाईंहरु पनि सोध्नुस् आउने हो कि होइन, रुचि छ कि छैन ?
प्रधानमन्त्रीले यति भनेपछि मुख्य सचिव एकनारायण अर्यालले थोरै जवाफ दिए ।
उनले भने, ‘मैले देख्या कुरा, सम्माननीयज्यूले चेयर गर्ने फर्मल मिटिङमा आउनुपर्ने बोलाएका मान्छेको कर्तव्य र जिम्मेवारीभित्र पर्छ । सोध्न पनि गाह्रो । जिल्लाबाहिर रहँदा त एउटा कुरा हो । नत्र फर्मल मिटिङमा आउनुर्प भन्ने मान्यता राख्छौं । अर्को मिटिङमा सम्माननीय ज्यू बस्दाबस्दै उठेर जाने प्रवित्ति पनि नराम्रो हो । कुनै पनि मिटिङको डेकोरम भित्र पर्दैन । मैले आज यो कुरा पनि निवेदन गरेँ । अस्ति मैले फिल गरेको विषय हो यो ।’
त्यसपछि ओलीले थप्छन्-
हाइलेभल कमिटीमा सहभागीताका लागि आमन्त्रण गर्दा लगातार तीनपटक आएन भने त…. (रोकिएर) पदै जान्छ । त्यस्तो ठाउमा चार पल्ट, पाँच पल्ट, जतिपल्ट पनि… जसलाई न चाडपर्व न केही… कुनै वास्ता नभएको… त्यस्तोमा सधैँ बोलाउनुपर्ने… हामीलाई त्यो बाध्यता हुने, आउनुपर्ने मान्छेलाई बोलाइराख्नुपर्ने… यस्तो हुँदैन ।
अर्कोपल्टसम्म सोधिखोजी गर्नुहोला । हेर्नुहोला रेकर्डमा को-को एकपल्ट पनि आउँदैन । रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउन नसक्ने भए नाम नराख्नू । हरेकपल्ट इतिहास बनिरहने, नाम छापिइरहने हरेक ठाउँमा, हामीले पवित्र नाम गरिरहनुपर्ने, मान्छे नआउने…।
सबै उपस्थित साथीहरुलाई धन्यवाद । जो परिस्थितिवस आउन सक्नुभएन, मन भएर पनि, उहाँहरुलाई पनि धन्यवाद । उधुमसँग मनाउनुपर्छ । जनस्तरबाटै मनाउनुपर्छ । सरकारी कार्यक्रममा मात्रै भर पर्नु हुन्न ।
बैठकले जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।