प्रमुख प्रशासकीय अधिकृतबिना बैठक राख्न मिल्दैन-उपमेयर सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँलाई बाइपास गरेर कार्यपालिका बैठक राख्ने मेयर बालेन साहको ‘तयारी’ प्रति असहमति जनाएकी छन् ।
प्रशासकीय अधिकृत अनिवार्य बैठकमा बसेर जनप्रतिनिधिका प्रश्नको सामना गर्नुपर्ने उनको अडान छ । आज फेसबुकमा स्टाटस लेख्दै डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्त्वपूर्ण कार्यलाई अवरोध पुर्याउनु नहुनेमा जोड दिएकी छन् ।
उनी लेख्छिन्, ‘यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु । बरु यस मामिलामा जोसुकैबाट कैफियत वा अनियमितता भएको छ भने त्यसको पनि छानबिन तथा अनुसन्धान हुनु पर्दछ भन्ने मान्यता राख्छु । तर, हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगर सभाका बैठक राख्ने विषयले समस्या उत्पन्न गरेको भन्ने समाचारहरू आएका छन् । कानुनी हिसाबले पनि यो उचित छैन भन्नेमा म अडिग छु ।’
जनप्रतिनिधिले उनलाई बैठकमा नै राखेर खुल्ला रूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने आफ्नो मान्यता उनले स्पष्ट गरेकी छन् । प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु उचित नभएको डंगोलको तर्क छ ।
‘यसरी उहाँलाई बैठकबाट बाहिर राख्दा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने संशय जनतामा उठ्न सक्छ । त्यसैले प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न दिने होइन, बरु उहाँले बैठकमा नै सामना गर्नुपर्ने भएकाले उहाँको उपस्थिति अनिवार्य हुनुपर्छ भन्ने मेरो दृढ मान्यता छ, उनले भनेकी छन् ।



