सांसदहरूलाई आफ्नो धरातल नबिर्सिन र जिम्मेवार जनप्रतिनिधि बन्न रवि लामिछानेको निर्देशन

काठमाडौं । स्वास्थ्यलाभ गर्ने क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेले आज पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पुगेर चोटिलो मन्तव्य दिए । उनले सांसदहरूलाई आफ्नो धरातल नबिर्सिन र जिम्मेवार जनप्रतिनिधि बन्न निर्देशन गरेका छन् ।
पार्टीको विधानमा ‘राइट टु रिकल’ को प्रावधान रहेको सम्झाउँदै संख्या घट्छ भन्ने चिन्ता नलिईकन गैरजिम्मेवार सांसदहरूलाई फिर्ता बोलाइने चेतावनी दिए ।
‘अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो । होइन, जो कसैलाई अझै पनि ‘म अभियन्ता नै हुँ’ जस्तो लाग्छ, हिजोको जस्तै जिम्मेवार नभएर अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने यु आर मोर देन वेलकम टु लिभ दिस हल । तपाईँहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन,’ लामिछानेले भने ।
उनले थपे, ‘सरकार दुई–तिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यस पटक कडाइका साथ लागू गर्नेछ ।’
आफूहरूसँग सहिद पत्नी पनि छन् भन्ने सोचेर काम गर्न उनले आग्रह गरे ।
लामिछानेले भने, ‘यहाँ सहिदकी आमा छिन्, ध्यान दिनुहोला । कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा अगाडि, एक कप चिया खानु अगाडि सहिदकी आमालाई सम्झिनुहोला । आफ्नो छोरो चढाएर संसद छिरेकी छिन् सहिदकी आमा । यो सामान्य कुरा होइन ।’
मन्त्री बन्नका लागि दौडधुप नगर्न उनले सांसदहरूलाई सुझाव दिए । मन्त्रिपरिषदमा को को पठाउने भनेर पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।
लामिछानेले भने, ‘तपाईँहरूमध्ये कोही यहीँ भएकै हलहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर वा ‘मिडिया ट्रायल’ मा ‘म फलानो मन्त्री’ भनेर लाग्नुहोला, मलाई केही पनि थाहा छैन । क्याबिनेटमा को–कोलाई पठाउँछ भन्ने कुरा पार्टीले गर्नेछ, तपाईँले भन्नुपर्दैन, हामीलाई थाहा छ । तपाईँहरूको विज्ञता थाहा छ । अलि बढी चर्चामा आएका र चर्चामा आउन नपाएका साथीहरू सबैलाई पार्टीले हेरेको छ ।’
आफ्ना अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरूप्रति कटाक्ष नगर्न उनले निर्देशन दिए ।
‘त्यो भयो भने अनर्थ हुन जानेछ । विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु होइन । विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन । रास्वपालाई प्रायः अराजक छन्, समर्थकहरू असहिष्णु छन् भन्ने छवि बनेको छ । अब त्यसबाट बाहिर निस्कनुपर्छ ।’ उनले भने ।



