मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा चारको मृत्यु, चार जना घाइते
मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा चारको मृत्यु, चार जना घाइते
मकवानपुर । मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा चारको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ हेटौंडातर्फबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको पुलको बारमा ठोक्किदा दुर्घटना भएको हो ।
ओभर स्पीडका कारण गाडी सडकमै पल्टिएको र यात्रुहरु पुलमुनि सिमखोलामा खसेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएकामध्ये चार जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन । त्यस्तै अन्य घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा अस्पताल र एक जनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।