माओबादी गण्डकी प्रदेश कमिटी अध्यक्षमा दुई जनाको दाबेदार

जनसेवा न्यूज संवाददाता
काठमाण्डौँ । कास्की नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा दुई जना दाबेदार देखिएका छन् । पोखरामा शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गरेर सकिँदैछ । सम्मेलनमा प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिको सहभागिता छ । आइतबार बन्द सत्रपछि प्रदेशमा नयाँ नेतृत्व चयन गरेर सम्मेलन टुंगिने जनाइएको छ ।
प्रदेश अध्यक्ष पदका लागि स्याङ्जाका शैलेन्द्र घिमिरे र कास्कीका दिपक कोइराला ‘रुपक’ दाबेदार देखिएका छन् । हालका अध्यक्ष हरि अधिकारी ‘कुमार’ अध्यक्षमा पुनः नदोहोरिने भएका छन् । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी सदस्यहरु जिल्ला वा प्रदेश समितिमा नरहने व्यवस्था छ । गण्डकी प्रदेश कमिटीका अध्यक्ष कुमारले आफू पुनः दोहोरिन नचाहेको बताए । उनले भने, ‘म पुनः दोहोरिने सम्भावना कम छ, विधानले दोहोरिन नपाउने भन्ने हैन । तर, अहिले छलफल चलिरहेको छ । आजै सरसल्लाह गरेर नयाँ नेतृत्व चयन गर्छौं ।’