प्रधानमन्त्री कपको छनोट खेलमा पश्चिम नवलपरासी विजयी

बुटवल । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुलाई पराजित गरेको छ ।
शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा नवलपरासीले कपिलवस्तुलाई १० रनले पराजित गरेको हो ।
४० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको नवलपरासीले ३४–५ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनायो । उसका लागि करण विकले अविजित २५ र दिलसाद अलीले १२ रन बनाए । बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले समान ३–३ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको कपिलवस्तु ३५–४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले समान ३–३ तथा इकलाख अहम्मद र करण विकले समान २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए ।
छनोट खेल अन्तर्गत आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । शनिबारको खेल मौसमका कारण ५० ओभरबाट ४० ओभरमा झारिएको थियो ।
पुस अन्तिम साताबाट हुने प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टिम बनाउनका लागि छनोट खेल भइरहको हो । प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा भइरहेको छनोट खेल पुस २१ गतेसम्म चल्नेछ र यसमा ७ जिल्ला सहभागी छन् ।