नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ

काठमाडौँ — नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । लगातार दोस्रो संस्करण च्याम्पियन बन्न नेपाललाई अपेक्षाकृत सजिलो भएन । ढाकाको मीरपुरस्थित साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा उज्वेकिस्तानमाथि ३–२ सेटको जितसँगै नेपालले उपाधि उचालेको हो ।

बंगलादेश प्रस्थान गर्दासम्म नेपाली टोलीलाई उज्वेकिस्तान टोलीमाथि संशय थियो । किनभने नेपालले अहिलेसम्म त्यो देशसँग प्रतिस्पर्धा गरेको थिएन । नेपाली खेलाडीले इन्टरनेटमा उज्वेकिस्तानको खेल भिडियोमा पनि हेर्न पाएका थिएनन् । लिग चरणमा आमनेसामने हुँदा दुवै टोलीले एकअर्काको रणनीति बुझ्न सकेनन् । तर, नेपालले सोझो सेटमा खेल जित्यो र लिगमा एक खेल अगावै फाइनलमा पुग्यो ।

मंगलबार भने उज्वेकिस्तानले कडा चुनौती दियो । मुख्य गरी उनीहरू रक्षापंक्तिमा सशक्त देखिए । बायाँहाते स्पाइकर इजोजारखान सातिबोल देइभाको प्रदर्शन पनि नेपाली खेलाडीका लागि टाउको दुखाइ बनिरह्यो । प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा चुनिएकी उनले नेपालसामु ठूलो चुनौती तेर्स्याइन् ।

नेपालले तेस्रो सेटबाहेक बाँकी सबै सेटमा लगातार दबाबमै रहनुपर्‍यो । परम्परागत समस्याका रूपमा रहेको सर्भिस र रिसिभमा नेपालले अझै सुधार गर्नुपर्ने धेरै ठाउँहरू छन् भनेर यो फाइनलले पनि पुष्टि गरेको छ ।

नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० को सेटमा खेल जितेको हो । प्रतियोगिताको छैटौं खेलमा आउँदा नेपालले यति धेरै दबाब बेहोर्नु परेको थिएन । पहिलो सेटमा नेपाल रक्षात्मक बन्नुपर्‍यो । सुरुदेखि नै पछि परेको नेपाल कुनै समय १२–१७ को स्थितिमा थियो । पुनरागमनसहित १८–१८ को बराबरी गरेयता अघिपछि हुँदै २४–२४ को स्थितिमा थियो । त्यसपछि लगातार दुई अंक जोडेर सेट आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेट पनि नेपाल दबाबमै रह्यो । २३–१९ ले पछि परेको स्थितिमा उज्वेकिस्तानले रातो कार्ड पाएपछि नेपालले अंक पायो । त्यसयता नेपालले लगातार अंक जोडेर २३–२३ को स्थितिमा पुग्यो । यो सेटमा कुनै पनि समय नेपालले अग्रता लिन सकेको थिएन ।

तेस्रो सेटमा नेपालले सुरुआतमा अग्रता लिए पनि उज्वेकिस्तानले ११–११ को बराबरीमा ल्याएको थियो । तर त्यसपछि लगातार सात अंक जोड्दै १८–११ को अग्रता बनाएयता नेपालले पछाडि फर्कनु परेन ।

चौथो सेटमा नेपालले रक्षात्मकमा राम्रो प्रदर्शन गर्न नसक्दा सुरुआतदेखि नै पछि परेको थियो । ब्लक र रिसिभमा राम्रो हुन नसक्दा धेरै नेगेटिभ प्वाइन्ट दिएको थियो । पाँचौं सेटमा ७–७ को स्थितिबाट नेपालले अग्रता लिन सुरु गरेको हो । १३–८ को अग्रता बनाएपछि नेपाललाई उपाधि हात पार्न सहज भयो ।

कप्तान अरुणा उत्कृष्ट सटर, सलिना उत्कृष्ट लिबरो घोषित भए । ‘लिगमा ३–० को सेटमा जिते पनि उज्वेकिस्तान धेरै राम्रो टिम हो । हामीलाई उनीहरूलाई कमजोर ठान्न हुन्न भन्दै आएको थिएँ, पाँच सेटमा जित्दा रमाइलै भयो,’ अरुणाले ढाकाबाट भनिन्, ‘पछिल्लो पटक उज्वेकिस्तान त्यत्ति राम्रो टिम थिएन् । अहिले धेरै राम्रो बनेर आएको थियो । हामीले पनि यो प्रतियोगिता धेरै राम्रो अनुभव बन्यो ।’

नेपाली महिला टोली तीन वर्षको अन्तरमा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको यो तेस्रोपल्ट हो । त्यसमध्ये दुई उपाधि जित्न सक्यो । सन् २०१९ मा अघिल्लो संस्करण बंगलादेशमै हुँदा नेपालले फाइनलमा माल्दिभ्समाथि सहज जित निकालेको थियो । त्यसको दुई महिनापछि घरेलु भूमिमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले ऐतिहासिक फाइनल यात्रा तय गर्‍यो । भारतविरुद्ध २ सेटको अग्रता लिएर पनि उपाधि गुमाउनुपर्दाको क्षण नेपाली खेलाडीहरू अहिले पनि सम्झन चाहँदैनन् ।

कोरोना महामारीका कारण दुई वर्ष ठप्प रहेको भलिबल गतिविधि पुनः सुरु हुँदा पहिलो सहभागितामै जितेको स्वर्णबाट टिमले आफ्नो स्तर कायम राख्न सकेको देखिन्छ । मुस्किलले एक महिनाको घरेलु तयारी र एउटा पनि एक्स्पोजर म्याच खेल्न नपाइ बंगलादेश पुगेको टिमको यो उपलब्धिलाई मुख्य प्रशिक्षक जगदीश भट्टले गर्व गर्न लायक भनेका छन् । तर, फाइनलमा बेहोरेको दबाब भने उनले अपेक्षा गरेभन्दा फरक थियो ।

‘लिग चरणमा सजिलै जितेको हुनाले फाइनलमा यति कठिन हुनेछ भन्ने मैले सोचेको थिइनँ । हामी विहानै ब्रेकफास्ट गरेर रंगशाला पुगेका थियौं । ट्राफिक जामका कारण विपक्षी टोली एक घण्टा ढिला आउँदा खेल ढिला सुरु भयो,’ प्रशिक्षक भट्टले ढाकाबाट कान्तिपुरसँग भने, ‘हामीले आज धेरै नै दबाबमा खेल्यौं । हाम्रो रिसिभ र सर्भिसमा धेरै गल्ती भयो । समग्रमा जित निस्कियो त्यसमा खुसी छु ।’

त्यसो भए नेपाली टोली अघिक आत्मविश्वासी हुँदा खेल बिग्रिएको हो त रु प्रशिक्षक भट्टले त्यसलाई स्वीकार गरेनन् । भने, ‘मैले सुरुदेखि नै भन्दै आएको छु, यो प्रतियोगितामा हामी समान टोलीहरू छन् । उनीहरूलाई हराउन हामीले आफ्नो खेल खेल्नुपर्छ । आज हामीले आफ्नै शैलीमा खेल्न सकेनौं ।’ प्रतियोगिताको ६ खेलमा नेपालले अपराजित यात्रा कायम राखे पनि दुई खेल ३–२ को सेटमा जितेको हो । पहिलो खेलमै श्रीलंकासँग २–० ले पछि परेको स्थितिमा पुनरागमन गरेको थियो । ६ खेलमा १८ सेट जितेको नेपालले ४ सेट गुमायो ।

दुई वर्षअघि पहिलो संस्करणमा सहजै उपाधि जितेको नेपालका लागि यो प्रतियोगिता आफ्नो स्तर सुधार गर्नका लागि पनि उपयुक्त रह्यो । प्रशिक्षक भट्टकै भनाइ मान्ने हो भने आफ्नो स्तरका टोलीसँगको प्रतिस्पर्धाबाट टिमको स्तरवृद्धिमा सहज हुन्छ । ‘अघिल्लो संस्करणको तुलनामा यो वर्ष चार नेपाल, (श्रीलंका, उज्वेकिस्तान र किर्गिस्तान) टोलीहरू समान स्तरका थिए । हामीले प्रतिस्पर्धात्मक खेलमा दबाब सामना गर्ने क्षमता पनि बढायौं,’ प्रशिक्षक भट्टले भने ।

दुई वर्षअघि दुई प्रतियोगिताको फाइनल खेलेको नेपाली टोलीमा ५ परिवर्तन थियो । नयाँ खेलाडीको प्रदर्शनबाट प्रशिक्षक पूर्ण सन्तुष्ट छन् । मुख्य गरी स्पाइकर शान्ति थारुले डेब्यु प्रतियोगितामै सबैको ध्यान आकृष्ट गर्न सकेकी छन् । श्रीलंकामाथिको पुनरागमन जितमा उनले उच्चस्तरको प्रदर्शन गरेकी थिइन् । यसपल्ट कृपा अधिकारी र मनीषा चौधरीले पुनरागमन गर्दा शान्ति, लक्ष्मी चन्द र कामना विष्ट पहिलोपल्ट टिममा छानिएका थिए । नयाँ खेलाडीबारे प्रशिक्षकले सटीक टिप्पणी छ, ‘उनीहरूले मैले अपेक्षा गरेभन्दा राम्रो खेले ।’

सेन्ट्रल जोनकै पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको छ । लिग चरणमा ३–१ को सेटमा हारेको उज्वेकिस्तानले नेपालसँग बदला लिने क्रममा २५–१५, २५–१७ र २५–२२ को सेटमा जित निकालेको हो । लिग चरणमा दुई खेल जितेको नेपाल पाँच टोली सम्मिलित प्रतियोगितामा चौथो भएको छ । दुई वर्षअघि नेपालमै आयोजित पाँचौं संस्करणमा नेपाल पाँचौं भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: